Logo

अवैध लागु औषधसहित वीरगञ्जबाट ५ जना पक्राउ



वीरगञ्ज, १४ मंसिर ।  वीरगञ्जबाट अवैध लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा अवैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा साइकल चलाउँदै रक्सौलतर्फ जाँदै गरेको अवस्थामा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारीको नवकाटोला वडा नम्बर ८ निवासी ६५ वर्षीय रामबालक साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहको साथबाट २ केजी ५ सय ग्राम लागुऔषध चरेश फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार साहविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोईन तथा गाँजासहित अन्य ४ जनालाई पनि पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ नवासी ३१ वर्षीय भोला साहलाई ०.५ ग्राम खैरो हिरोईनसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै ३ ग्राम ७ सय मिलिग्राम खैरो हिरोईनसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर २ का २० वर्षीय सञ्ज्य बानियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ । यता वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी २० वर्षीय बिकास साहलाई पनि प्रहरीले १ ग्राम खैरो हिरोइन र १ पुरीया गाँजासहित पक्राउ गरेको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी २८ वर्षीय जितेन्द्र साहलाई पनि १ ग्राम खैरो हिरोइन र १ पुरिया गाँजासहित पक्राउ गरेको प्रहरी प्रवक्ता खनालको भनाई छ । पक्राउ परेका पाँचैजनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...