Logo

एमाले समाजवादी मोर्चामा आउने सम्भावनालाई इन्कार गर्नुहुन्नः विप्लव



काठमाडौं, १६ फागुन ।। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) समाजवादी मोर्चामा आउने सम्भावना प्रवल रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामपन्थी धारहरुलाई एक ठाउँमा ल्याउने पहल भइरहेको बताएका हुन् ।

उनले अहिले मोहन विक्रम सिंह नेतृत्वको मसालसँग समाजवादी मोर्चामा आउनेबारेमा छलफल भइरहेको र छिट्टै एमालेसँग पनि छलफल हुने बताए । उनले केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट हुँदा वामपन्थी मोर्चाबारे छलफल भएको उनले बताए ।

एमाले अध्यक्ष ओलीसँगको भेटको प्रसंगमा उनले भने, ‘हो पहिला पनि हाम्रो एक पटक भेट हुँदा वामपन्थी आन्दोलनबारे छलफलल भएको छ । एमालेका सबै देशभरका कमरेडहरुसँग कुराकानी हुँदाखेरी सकारात्मक हुनुहुन्छ । समाजवाद एमालेको पनि एजेण्डा हो । केपी ओलीले समाजवाद अहिलेको एजेण्डा हो भनेर बोलिसक्नु भयो ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि २००६ सालको आधारमा हेरिनुपर्ने उनको भनाइ छ । देशलाई सम्हाल्ने गरी वामपन्थीहरुको एकता अहिलेको आवश्यकता रहेको उनले बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...