Logo

ओली पुनः बने प्रधानमन्त्री, सपथ भोलि



वैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका ओली ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बनेका हुन् ।

विपक्षीले समयसीमा भित्र बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

उनको सपथ भोलि गर्ने शीतल निवासले तयारी गरेको छ।

ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि ओली पुनः प्रधानमन्त्री बनेका हुन् ।

तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।

माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...