Logo

कमिशन खान सरकार तल्लिन, नागरिकलाई उपचार छैन : पूर्व डिआईजी खरेल



वीरगञ्ज, २५ बैशाख । वर्तमान परिवेशमा सरकार आफ्नो दायित्वबाट पन्छिएर कमिशनमा लिप्त रहेको नेपाल सुशासन अभियानले आरोप लगाएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको कहरमा सरकारले कमिशनको लहर चलाएर जनतालाई राहत दिनुपर्नेमा उल्टै आहत दिएको अभियानको ठहर छ ।

वैश्विक महामारीले सृजना गरेको विषम परिस्थितीमा सीमीत स्रोत साधनको सदुपयोगबाट असिमित सेवा सुविधा दिएर नागरिकलाई सरकार र सुरक्षाको प्रत्याभुति दिलाउनुपर्नेमा मौकामा चौका हानेर कमिशन खानेतर्फ सरकार तल्लिन रहेको नेपाल सुशासन अभियानका केन्द्रिय संयोजक एवम् नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘खोपमा पनि कमिसन, जनतालाई खोप देऊ, अब कमिसन जनताले दिन्छन् ।’

शक्तिशाली र विकसित राष्ट्रहरुले पनि कोरोनादेखि हरेस खाएर केही गर्न नसकिरहेको अवस्थामा गरिबीको रेखामुनि पिल्सिएको नेपाललाई सुरक्षित बनाउन सबै दलहरु एकबद्ध भएर लाग्नुपर्नेमा आफैभित्र बिमेल पैदा गरी सत्ता र कुर्सीको खेलमा लाग्नु लज्जास्पद विषय भएको अभियानका संयोजक खरेलको भनाई छ । विगतका दिनहरुमा पनि औषधी तथा स्वास्थ्य सामाग्री खरिदमा भएका भ्रष्टाचारहरुलाई स्मरण गर्दै अहिले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारहरु गलत नभएको विज्ञप्तीमार्फत दावी गरिएको छ ।

अस्पतालमा बेडको अभाव र चिकित्सकको उपचार नपाएर संक्रमितलाई मृत्युको मुखमा पु¥याउ सरकार र सरोकारवाला नै उद्धत देखिएको विज्ञप्तीमा भनिएको छ । खोप खरिद गर्ने सरकारको निर्णयमा ३५ करोड कमिसनले ३ करोड जनताको स्वास्थ्यमाथी खेलवाँड गर्ने कार्य स्विकार्य नहुने विज्ञप्तीमार्फत चेतावनी पनि दिइएको छ ।

‘सरकार आफ्नो दायित्वबाट पञ्छिएर जनताप्रति जिम्मेवार र जवाफदेही नभएको प्रमाणित हुन्छ’ खरेलले यात्राडेलीसँगको संवादमा भने । अन्य खर्च कटौती गरेर भएपनि खोप आयात गरी नागरिकलाई निःशूल्क रुपमा उपलब्ध गराउनुपर्नेमा सरकारले कमिसन र स्वार्थपुर्तिलाई प्राथमिकता दिएको खरेलले बताए ।

तसर्थ सरकारलाई दबाब दिएर सचेत गराउन पनि ३५ करोडलाई नेपालको जनसंख्याले भाग गर्दा हुने प्रति नेपाली १२ रुपैया उठाएर जम्मा गरी बुझाउने नेपाल सुशासन अभियानको योजना छ । उक्त योजनालाई सफल पार्न सबै नेपाली नागरिकले १२ रुपैयाँ ई सेवामार्फत जम्मा गर्न पनि विज्ञप्तीमार्फत अपिल गरिएको छ । ईसेवा आईडी ९८५१०७८१०० मा पठाएर अन्या, अत्याचार र भ्रष्टाचारको विरुद्धमा ऐक्यबद्धता जनाउन नेपाल सुशासन अभियानका सदस्य मधुसुदन चौरसियाले आग्रह गरे ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...