
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा यी चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा जाँदै छन् । देउवाले पाँचौँ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् ।हरेक प्रधानमन्त्रीको भ्रमणमा ईपीजीको कुरा उठेकै हुन्छ । ईपीजीको विषयमा जति चासो नेपाललाई छ, त्यति चासो भारतलाई छैन जस्तो लाग्छ । नेपालका पत्रकार होउन् वा बुद्धिजीवी ईपीजीको विषय उठाएकै हुन्छन् । ईपीजीको विषयमा नेपालमा जति चर्चा हुन्छ, त्यसको तुलनामा भारतमा चर्चा छैन । ईपीजी प्रतिवेदन भारतले किन बुझेन भन्ने जसरी प्रश्न गरिन्छ, त्यो प्रश्न नेपाललाई पनि गर्नुपर्छ । नेपालले नै किन अहिलेसम्म बुझेको छैन, त्यो प्रश्न नेपाली जनताले सोध्नुपर्यो । ईपीजी बुझेर नेपालले पनि त्यसको बारेमा बोल्नुपर्छ । ईपीजीमा के मन पर्यो, के मन परेन ? त्यो कुरा नेपालको तर्फबाट पनि आउनुपर्छ । ईपीजी प्रतिवेदन टोलीमा भारतबाट चारजना राखिएकोमा एकजना सदस्यको मृत्यु भइसकेको छ, जसले त्यसमा हस्ताक्षर पनि गरेका छैनन् ।
यो ईपीजी विवादमा तानिएको छ । यदि एक्सेप्ट गर्ने कुरा हुन्थ्यो भने चार वर्ष अगाडि नै सबै कुराको टुङ्गो लाग्थ्यो तर अहिलेसम्म दुवै देशले त्यसलाई बुझेका छैनन् भने अब स्पष्ट हुनुपर्छ कि त्यसलाई रद्दीको टोकरीमा फ्याल्ने बेला भइसकेको छ । यस्ता थुप्रै अध्ययन प्रतिवेदन बनेका हुन्छन्, सबै कार्यान्वयन हुन्छ भन्ने छैन । त्यसमा यो ईपीजी पनि परेको छ । मलाई लाग्छ, अब यसमा बहस गर्नु नै बेकार छ ।
अहिले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत आउँदै हुनुहुन्छ । यो भ्रमणबाट ईपीजीको केही टुङ्गो लाग्छ कि त्यो भन्न सकिँदैन तर मैले बुझेअनुसार ईपीजीप्रति दुवै देश सकारात्मक छैनन् ।
एमसीसीको बारेमा भारत केही बोलेको छैन, यसको मतलब त्यसप्रति भारतको समर्थन छ भनी बुझ्नुपर्छ । तर भारतले बीआरआई रुचाएको छैन । पहिला पनि बीआरआईलाई भारतले विरोध गरिसकेको छ । तर नेपालमा बीआरआइ प्रोजेक्ट लागु हुन्छ कि हुँदैन, त्यो भारतको सरोकारको विषय होइन । बीआरआई प्रोजेक्टका कारण भारतलाई कुनै क्षति नगरोस्, कुनै प्रभाव नपरोस्, त्यसमा भारत सचेत छ । र, नेपालले पनि त्यसमा विश्वास दिलाउनुपर्छ ।
–डा.निहार नायक, आईडीएसए, दिल्लीमा नेपाल–भारत सम्बन्धमा अनुसन्धानरत
भारतका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाका लागि अहिलेको भ्रमण महत्त्वपूर्ण हो । दुई देशको बीचमा देखिएको सानातिना मतभेद पनि यसले अन्त्य गर्छ । हुन त अहिले दुवै देशको बीचमा खासै मतभेद छैन । प्रधानमन्त्री केपी शर्मा अोलीको पालामा केही मतभेद देखिएको थियो, दुरी बढेको थियो । तर सन् २०२० मा भारतबाट पटक पटक उच्चस्तरीय भ्रमण भएपछि त्यो दुरी कम भएको हो । त्यो बेला भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाला, विदेश मन्त्रालयका सचिव, रअ का प्रमुख लगायतको उच्चस्तरीय भ्रमण भएको थियो । त्यसले दुई देश बीच बिग्रेको सम्बन्धलाई सुधार गर्न भारतबाट भएको प्रयास थियो । त्यसमा भारत सफल भएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भारतसँग सम्बन्ध बिग्रिए पनि उहाँकै पालामा सुध्रियो पनि । यो दुवै देशका लागि सुखद कुरा हो । अहिले पनि केही मिसअन्डरस्ट्याण्डिङ होला, त्यसलाई यो भ्रमणले समाप्त पार्न सक्छ । सन् १९५० को सन्धि, सीमा, व्यापार सन्धि लगायतको विषयमा केही मिसअन्डरस्ट्याण्डिङ छ, त्यसलाई पनि यो भ्रमणले मिलाउने छ भनी विश्वास गर्न सकिन्छ । दुई देश बीचमा कुनै समस्या छ भने दुवै देशका पदाधिकारीहरू बसेर सल्टाउनुपर्छ । कुनै समस्यालाई जति समयसम्म राख्यो, त्यो त्यति नै बल्झिदै जान्छ ।
नेपाल–भारतले आआफ्नो नक्सा संशोधन गरेपछि दुई देशबीच मनमुटाव सुरु भएको थियो, त्यसको असर अहिले पनि देखिएको छ । नक्सा जारी भएपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री देउवाको भ्रमणले त्यसलाई समाधान हुन्छ जस्तो लाग्छ । नेपालले जारी गरेको नक्सालाई भारतले स्वीकारेको छैन भने भारतले जारी गरेको नक्सालाई नेपालले स्वीकारेको छैन । यो समस्यालाई लामो समयसम्म राख्नु हुँदैन । जतिसक्दो छिटो समाधान भयो भने दुवै देशको हितमा हुन्छ ।
भारतले नेपालका सबै पार्टीसँग राम्रो व्यवहार गरेको छ, सबै दलसँग उसको राम्रै सम्बन्ध छ । भारत सरकारले नेपालमा कुन पार्टीको सरकार हो, त्यो हेर्दैन । त्यहाँको सरकारलाई मात्र हेर्छ । नेपाल सरकारले भारत सरकारसँग कस्तो व्यवहार गरेको छ ? सम्बन्ध त्यसमा भर पर्छ, चाहे त्यहाँ कम्युनिष्टको सरकार होस् वा काँग्रेसको सरकार होस्, त्यसले भारतलाई त्यति फरक पार्दैन ।
अहिले काँग्रेस नेतृत्वको सरकार छ । पहिले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारसँग र अहिलेको सरकारसँग सम्बन्धमा कुनै फरक छैन । भारत सरकारले निम्तो पठायो, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा निम्तो स्वीकार गरी यहाँ आउन लाग्नु भएको हो । भारत सरकारसँग त्यहाँका कुनै दलसँग नराम्रो छैन तर दलका कुनै व्यक्ति विशेष नेताले भारतको बारेमा गरेको टिप्पणीका कारण ‘हर्ट’ गरेको हुन्छ । त्यसले कहिलेकाही राम्रोसँग चलिरहेको सम्बन्धमा ‘ब्रेक’ लगाई रहेको हुन्छ । दुवै देशका राजनीतिक दलका नेताहरूले यो कुरामा विचार गर्नुपर्ने हुन्छ । कुनै देशको बारेमा टिप्पणी गर्दा त्यसले कतिसम्म असर पुर्याउँछ, त्यो कुराको विचार गर्नुपर्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा भारतको बारेमा गर्नुभएको टिप्पणीले नै दुई देशको बीचमा सम्बन्ध बिग्रेको थियो । तर उहाँले सरकारको प्रधानमन्त्रीको रूपमा होइन, एउटा पार्टीको अध्यक्षको रूपमा बोल्नु भएको थियो । तैपनि सम्बन्धमा ठुलो असर गरेको थियो ।
त्यो सम्बन्ध सुधार गर्न अहिले पनि दुवै देशले मिहिनेत गरिरहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यो बिग्रेको सम्बन्धलाई सुधार गर्न प्रयासरत हुनुहुन्छ । त्यसैले यो भ्रमणले दुवै देशको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुधार गर्न कोसेढुङ्गा साबित हुनेछ ।
मुनी र निहारसँग कुराकानीमा आधारित ।