Logo

नेता चौरसियाद्वारा बिन्दवासिनीस्थित अस्थाई कोभिड अस्पतालको निरिक्षण



वीरगञ्ज, ७ जेठ । नेपाल सुशासन अभियानका सदस्य मधुसुदन चौरसीयाले पर्साको बिन्दवासिनी गाउँपालिकाले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालको निरिक्षण गरेका छन् । गाउँपालिकाको सचेत अनि जिम्मेवार युवाको नाताले गाउँपालिकाले सञ्चालन गरेको अस्थाई कोभिड अस्पतालको अवस्थाबारे जानकारी लिन स्थलगत अनुगमन गरेको चौरसीयाले बताए ।

चौरसियाका अनुसार गाउँपालिकाले सञ्चालन गरेको २५ बेडको आइसोलेसन वार्डसहितको अस्थाई कोभिड अस्पतालमा १ जना पनि कोरोना संक्रमित नरहेको अनुगमनको क्रममा देखिएको छ । अक्सिजनबिना स्थापना गरिएको आइसोलेसनसहितको अस्थाई कोभिड अस्पतालमा केही दिनअघि चौरसियाकै दबावपछि २ वटा अक्सिजन सिलिण्डर राखिएको छ । विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठास्थित श्री राधाकृष्ण माद्यामिक विद्यालयमा स्थापित अस्थाई कोभिड अस्पतालको अनुगमनको क्रममा सबै बिरामीहरुका लागि एउटा मात्रै शौचालयको व्यवस्था गरिएको भेटिएको छ ।

त्यसैगरी सञ्चारमाध्यममा २५ बेडको भनिएपनि कोभिड संक्रमितका लागि २० बेड र एम्बुलेन्स चालक तथा चिकित्सकहरुका लागि ५ बेड छुट्याइएको अस्पतालका इन्चार्ज मिथलेस साहले बताए । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरेश चौहानले अस्थाई कोभिड अस्पतालको अवस्थाबारे चौरसियालाई जानकारी गराएका थिए ।

सो अवसरमा युवा नेतासमेत रहेका चौरसियाले स्टाफका लागि छुट्याइएका २ वटा शौचालयमध्ये १ वटा बिरामीका लागि छुट्याएर महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्न आग्रह गरेका थिए ।

यसका साथै अस्थाई कोभिड अस्पतालमा कुनै पनि कमी भएमा स्वास्थ्य सामाग्री उपलब्ध गराउनका साथै स्वयमसेवकको रुपमा काम गर्न पनि तयार रहने चौरसियाले प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य शाखा संयोजक चौहानले पनि आइसोलेसनको स्थलगत अनुगमन गराउँदै कुनै कमीकमजोरी भए औल्याइदिन आग्रह गरेका थिए ।

अनुगमन टोलीमा अभियानका दिलावर मिया पमरिया, सद्धाम हुसैन, सोहेल अख्तर लगायतको उपस्थिती रहेको थियो । सभार यात्राडेली

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...