Logo

पर्सामा २४ जना एचआईभीमा संक्रमित भेटिए, २० मिनेटमै नतिजा



वीरगञ्ज, फागुन १२ गते । पर्सामा एक वर्षभित्रमा २४ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ । सन् २०२० मा विद्यार्थी जागरण मञ्च ९विजाम०ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा उनीहरु एचआईभी संक्रमित भेटिएका हुन् ।

सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको रगत लिएर समुदायमै परीक्षण गरी २० मिनेटभित्र नतिजा दिने गरेको छ ।

सन् २०२० मा १ हजार २ सय ९५ जना लागूऔषध प्रयोगकर्ताहरूको एचआईभी परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको विजामका कार्यक्रम संयोजक अनोजकुमार खड्काले जानकारी दिए । उनका अनुसार बाँकी १९ जना भने अन्य व्यक्ति रहेको छ ।

‘पहिले अस्पताल, क्लिनिक, ल्याबमा नआइ एचआईभी परीक्षण गर्न सकिँदैनथ्यो, २०१८ देखि हामीले समुदायमै गएर परीक्षण गर्न सक्ने व्यवस्था मिलाएका छौं, त्यसका लागि ७ जना तालिम प्राप्त कर्मचारी हुनुहुन्छ,’ उनले भने, ‘विशेष रणनीति मार्फत् लुकेर बसेका, परीक्षण नगरी बसेकाहरुको एचआईभी परीक्षण गराउन सफल भयौं । सोही क्रममा २४ जनामा एचआईभी पोजेटिभ देखियो ।’

उनका अनुसार लागूऔषध प्रयोगकर्तामा भने तीन वर्षमा पहिलोपटक ६ जनामा संक्रमण पुष्टि भएको हो । विजामले इन्जेक्सनमार्फत नियमित लागूऔषध प्रयोग गर्दै आएकामध्ये २३ जनालाई ओएसटी (मौखिक प्रतिस्थापन पद्धति) मा लैजान सफल भएको समेत जनाएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ सय ६६ जना एचआईभी संक्रमितले एआरटी सेवा लिँदै आएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...