Logo

पार्टी एकतालाई ध्वस्त बनाएका ओलीबाट सेनाको मुख्यालयमा पुगेर राष्ट्रिय एकतामा जोड



प्रीति रमण — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको मुख्यालयमा पुगेर राष्ट्रिय एकतामा  जोड दिदै गरेको घटनाले सबैतिर राजनीतिक तरङ्ग ल्याएको छ ।

अत्यधिक बहुमत प्राप्त गरेर शक्तिशाली सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टीलाई भने विभाजित बनाएर विरोधीहरुलाई सडकमा पु¥याईदिएका छन् । पार्टीभित्र एकता कायम गर्न नसकेका प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतामा जोड दिएको सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वाभाविक हो । ओलीले सेनाको मुख्यालयमा पुगेर वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको समाचार जताततै चर्चित बनेको छ ।

नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । ओलीको यो अभिव्यक्तिले ओली नेपाल एकीकरण  अभियानका नायक राजा पृथ्वीनारायण शाहबाट प्रभावित भएको भाव झल्किन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकाले नै नेपालीहरुले नेपालीका नाममा राजनीति गर्न पाएको यथार्थलाई केपी ओलीले आत्मसात गरेको रुपमा उनका अभिव्यक्तिलाई बुझ्न सकिन्छ ।

सैनिक मुख्यालयमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले भनेका छन् —‘एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।’

प्रधानमन्त्री ओलीको यो भनाईबाट ओलीलाई बर्गीय राजनीतिक सोचको आधारमा मात्र हेर्नेहरुको दृष्टिमा परिवर्तन आउनु पर्ने देखिन्छ । ओली वर्गीय एकतामा मात्र नभएर समग्र राष्ट्रिय एकताको पक्षमा छन् भन्ने कुरा उनका भनाईबाट बुझ्न सकिन्छ । ओलीले राष्ट्रिय एकताको भावनालाई जसरी सैनिक जमघटबीच साट्न खोजे त्यसले आफ्नो एकताको अभियानमा सेनाको साथ खोजेका छन् भन्ने सन्देश पनि दिन खोजिएको बुझ्न सकिन्छ । पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको भन्दै ओलीले  राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्ने धारणा पनि व्यक्त गरे । यसबाट पनि ओलीको भावनालाई बुझ्न सकिन्छ । ओलीले पहिचानका नाममा जातिय द्वन्द सृजना गर्ने  काममा लागेका राजनीतिक दलहरुलाई चेतवनी दिएको रुपमा पनि बुझ्न सकिन्छ ।   ओलीले पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको भन्दै ‘नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस्’ भनेर पृथ्वीनारायण शाहको एकीकरण अभियानमा आफ्ना श्रद्धाभाव व्यक्त गरेका छन् ।

अझ अगाडि बढेर प्रधानमन्त्री ओलीले नेपाली भूभागको बखान गर्न पनि भ्याए । उनले भनेका छन् — ‘राष्ट्र बचाउने गढी र किल्लामा भएको बलिदान, बगेको रगत र भोगेको कष्टबाट आज हामीले नेपाल देश र नेपाली भन्न पाएका छौं ।’ इतिहासको तथ्यपरक खोज अनुसन्धानलाई स्थापित गराउँदै आउँदो पुस्ताले त्यो कुरा नबिर्सियोस् भन्नाका लागि गौरवपूर्ण इतिहास बोकेका महान् पुर्खाको यथोचित सम्मान गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । पृथ्वीनारायण शाहका शालिक भत्काउँदै पृथ्वीनारायण शाहलाई अपमान गर्ने नेपालको वर्तमान राजनीतिक संस्कारको विकास भइरहेको अवस्थामा ओलीले दिएको यस्तो अभिव्यक्ति अर्थपूर्ण मान्न सकिन्छ ।

प्रधानमन्त्री ओली मन्तव्य दिएको सो कार्यक्रममा नेपाली सेनाका महासेनानी प्रकाशबहादुर चन्दले नेपालको गौरवमय इतिहासको जगेर्ना गर्ने कार्यमा राष्ट्रियरूपमा उपलब्ध स्रोत, साधन र सोचको अधिकतम प्रयोग गर्दै एकीकरण मार्ग कार्यक्रमसँग सम्बद्ध सबै पक्षको बुझाइमा एकरूपता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।

स्थानीय स्तरसम्म सबैको हितमा हुने गरी सामूहिकरूपमा दीर्घकालसम्म उपयोगी कार्यक्रम निर्धारण गर्ने हेतुले सेनाले एकीकरण मार्ग कार्यक्रम गरेको जानकारी गराइएको छ । सरकारले एकीकरण मार्गसम्बन्धी कार्यक्रमलाई दुई वर्षदेखि नीति तथा कार्यक्रममा समेटेको छ ।  नेपालको एकीकरणका समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र अरू अभियानकर्मीले प्रयोग गरेको मार्गलाई पर्यटन पदमार्गका रूपमा विकास गर्ने अवधारणाअनुरूप अहिले मुलुकका १६ स्थानमा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको पनि सो अवसरमा जानकारी गराइएको थियो । पछिल्लो समय उक्त पदमार्ग संरक्षणमा उत्साहजनक सहभागिता जुटेको, आम नागरिकमा अपनत्व बढेको तथा एकीकृत कार्यक्रमसहित अघि बढ्न सुझाव प्राप्त भएको सेनाबाट जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओलीको राष्ट्रिय एकताको भावना अभिव्यक्त मन्तव्य र नेपाली सेनाको प्रस्तुतीले नेपालको राजनीतिमा तरङ्ग ल्याउनु स्वाभाविक देखिन्छ । १० वर्षे जनयुद्ध र त्यसपछिको मधेश आन्दोलनसँग जोडिएको १९ दिने जनआन्दोलनले परिवर्तित नेपालको राजनीतिमा फरक खालको कार्यदिशा संकेत हुने अभिव्यक्ति प्रधानमन्त्रीबाट प्रकट भएको छ । पछिल्ला वर्षमा सेनाले गोरखादेखि काठमाडौंसम्म १९६।८ किलोमिटर पदमार्गमा वार्षिकरूपमा एकीकरण पदयात्रा सञ्चालन गर्दै आएको छ । नेपालको एकीकरणसँग जोडिएका मुलुकमा १ सय ३२ वटा गढी तथा किल्ला रहेका छन् । नेपाली सेनाले परम्परा धान्दै आएको राष्ट्रिय एकीकरण कर्ताको सम्झनामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले निश्चय पनि प्रधानमन्त्री ओली र  नेपाली सेनाको भावनात्मक आत्मियतालाई प्रकट गरेको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुलाई सडकमा पु¥याएर नेपाली सेनासँग सामिप्यता देखाउन गरिरहेको प्रयासमा नेपाली सेनाको मुख्यालयमै पुगेर राष्ट्रिय एकताको भावना व्यक्त गरिएपछि नेपालका राजनीतिक दललाई थप चुनौतिका दिनहरु  आउने सम्भावनालाई अस्वीकार गर्न सकिदैन ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...