Logo

प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन, अख्तियारको कार्यालय घेराउ



जनकपुरधाम, असोज २० गते । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन गरिएको छ । बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ ।’ सहितको नारा लगाउँदै पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा प्रदर्शन गरेका छन् ।

लालबाबु राउत नेतृत्वको सरकारलाई कारबाहीको माग गर्दै जनमत पार्टीका नेताकार्यकर्ताले आज बर्दिवासस्थित अख्तियारको मुलगेट अगाडि प्रदर्शन गरेको पार्टीले जनाएको छ ।

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो ।

त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ ।

यसअघि सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गरेको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...