Logo

प्रदेश २ : स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ



बारा, फागुन १३ गते । बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् ।

फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका- ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्त परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

बीआर०५के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार र ५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको हो ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...