
पुस २९ गते । भारती टेलिभिजन जी न्युजले नेपालको स्वभिमानमाथि फेरि धावा बोलेको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएलगत्तै जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम नै परिवर्तन गर्ने अभियान घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता प्रशारण गरेको भोलिपल्टै सो च्यानलले सगरमाथामा भारतीयले दाबी गर्नुपर्ने भन्दै सामग्री प्रसारण गरेको छ । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन आएको जी न्युजका पत्रकार सुधीर चौधरीको टोलीले नै सगरमाथामा भारतले दाबी ठोक्नुपर्ने भन्दै सामग्री प्रशारण गरेको हो ।
प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएपछि सो टोली हेलिकोप्टरमार्फत सगरमाथा पुगेको चौधरीले उल्लेख गरेका छन् ।
उनले कालापत्थरमा पुगेर सगरमाथाको सबैभन्दा पहिले भारतका राधानाथ सिकदरले उचाई नापेको भन्दै उनकै नामबाट सगरमाथाको नामाकरण गर्नुपर्ने दाबी गरेका छन् ।
उनले यो जी न्युजको ठूलो अभियान भएको समेत बताएका छन् । ‘हामीले १७ हजार ५ सय फिटको उचाईमा पुगेर हामीले सगरमाथाको नाम बदल्ने अभियान सुरु गरेका छौं’, उनले भनेका छन्, ‘यसको उचाई नाप्ने र यसबारेमा संसारलाई भन्ने काम भारतका गणितज्ञ राधानाथ सिकदरले गरेका थिए । तर अंग्रेजले सम्मान जर्ज एभरेस्टलाई दिएका थिए । जसले कहिल्यै पनि संसारको सबैभन्दा अग्लो हिमाल देखेका समेत थिएनन् ।’
उनले भारतीयले अहिले पनि माउन्ट एभरेस्ट भनेर सगरमाथालाई भन्ने गरेको भन्दै यसको असली हकदार राधानाथ सिकदर भएको दाबी गरेका छन् ।
उनले सगरमाथामा पुगेका भनेका छन्, ‘यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि पूरै दुनियाँका सामुन्ने आफ्नो दाबी पेस गर्नुपर्छ ।’