Logo

प्रहरी-प्रशासनकै सेटिङ्गमा चुरे दोहन : वनमन्त्री महतो



धनुषा, पुस २५ गते । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले प्रहरी प्रशासनकै सेटिङ्गमा चुरे दोहन भइरहेको बताएका छन् । पर्यावरण तथा चुरे संरक्षण अभियन्ता ओमप्रकाश भनिने दिलीप महतोको दोस्रो स्मृति दिवसको अवसरमा आईतवार धनुषाको ढल्केवरमा आयोजित कार्यक्रममा वनमन्त्री महतोले यस्तो बताएका हुन् ।

चुरे संरक्षणको सवालमा प्रहरीप्रशासनकै भूमिका शंकास्पद रहेको मन्त्री महतोकोल संकेत गरे । प्रहरीसंग साँठगाँठ गरेर ठेकेदारले अबैध रुपमा खोला उत्खनन् गर्ने गरेको उनको दावी छ ।

‘कतै उत्खनन् भइरहेको प्रहरीलाई जानकारी गराउनुस् । पहिला प्रहरीले ठेकेदारलाई फोन गरेर भगाउँछ अनि बल्ल एक घण्टापछि उत्खनन् स्थलमा प्रहरी पुग्ने प्रवृति छ,’ आक्रोशित हुदैं मन्त्री महतोले भने ।

प्रहरी युनिटमा सबै प्रहरी एकै किसिमको नभएको बताउँदै उनले इमान्दारीताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने राष्ट्रसेवक प्रहरीको प्रशंसा समेत गरे ।

वन विनाश, अवैध चुरे दोहन गर्ने छुट कानूनले कसैलाई नदिएको उनको भनाइ थियो । चुरे दोहन गर्ने कार्यमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने अभियान सुरु गर्न लागेको उनले सुनाए । मन्त्री महतोले मन्त्रालय संयन्त्रमाथि पनि प्रश्न चिन्ह खडा भएको उल्लेख गरे ।

चुरे माफियाहरु विरुद्धको मन्त्रालयको भित्री योजना पनि बाहिरिने गरेकोमा उनको आक्रोश थियो । ‘माफियाहरु विरुद्ध कारबाहीको डण्डा चलाउने योजना मन्त्रालयमा बनाउँछौं,’ मन्त्री महतोले भने ‘केही बेरमै त्यो सूचना माफियाकहाँ गएर लिक भइदिन्छ ।’

उनले दिलीपलाई पर्यावरण शहिद घोषणाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिष्ठानकी अध्यक्ष संगम कुमारी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषाका जिल्ला वन अधिकृत सुनिल कुमार कर्ण, चुरे अभियानी तथा जनकपुर वन प्राविधिक समाजका सुरेश शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, मिथिला वाइल्डलाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, घरपरिवारका सदस्य, संचारकर्मी तथा चुरे अभियानीहरुको उपस्थिती रहेको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...