Logo

बारामा खेतमा पोखरी खन्ने क्रममा विष्णु भगवानको मूर्ति फेला, हेर्नेको घुइँचो



बारा, फागुन १६ गते । बारामा खेत खन्ने क्रममा प्राचीन मूर्ति फेला परेको छ । बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा ६ फिट लामो र ४ फिट चौडाइ भएको विष्णु भगवानको मूर्ति फेला परेको हो ।

May be an image of outdoors

स्थानीय कुसुन्दरप्रसाद महतोले माछा पालनका लागि खेतमा पोखरी खन्ने क्रममा मूर्ति फेला परेको थियो । डोजर लगाएर ७ फिट गहिरो खाडल खन्दा विष्णु भगवानको मूर्ति फेला परेको वडाध्यक्ष राजेश यादवले जानकारी दिए ।

ऐतिहासिक सिम्रौनगढलाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि थप बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

‘ऐतिहासिक विष्णु भगवानको मूर्ति भेटिएपछि सिम्रौनगढको पर्यटकीय र पुरातात्विक महत्व अझ बढी रहेको पुष्टि भएको छ । तर यसको संरक्षणका लागि प्रदेश र केन्द्र सरकारले जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकेको छैन,’ उनले भने, ‘यसतर्फ सरोकारवाला निकायको ध्यान पुग्नुपर्छ ।’ मूर्ति १३ औं शताब्दीतिरकै हुन सक्ने अनुमान वडाध्यक्ष यादवको छ ।

May be an image of 1 person and outdoors

मूर्ति सिम्रौनगढ क्षेत्रमा फेला परेको आजसम्मकै सबैभन्दा ठूलो मूर्ति रहेको सिम्रौनगढ क्षेत्रका बासिन्दाले दावी गरेका छन् । डोजरले खन्ने क्रममा मूर्ति कतै कतै टुटफुट पनि भएको छ ।

शनिबार दिउँसो करिब तीन बजे फेला परेको मूर्ति हेर्न आसपास गाउँका बासिन्दाको घुइँचो नै लागेको छ । आइतबार बिहान प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले मूर्तिको दर्शन गर्नुको साथै उचित व्यवस्थानपन कसरी गर्ने रु भन्ने विषयमा स्थानीयसँग छलफल समेत गरेका छन् ।

May be an image of 1 person and outdoors

मूर्तिको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ । तर मूर्तिलाई कमलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा राख्नेबारे छलफल भइरहेको वडाध्यक्ष यादवको भनाइ छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...