Logo

भागरथीको बलात्कार र हत्या प्रकरणले बलात्कारीलाई कडा सजायको माग



प्रीति रमण —  निर्मला पन्तका बलात्कारी र हत्यारा फेला नपर्नु र अन्य बलात्कार घटनाका आरोपीहरु पनि समान्य सजायबाटै उन्मुक्ति पाउनुले बलात्कार र हत्याका घटनाहरु बढिरहेका छन् ।

महिला यौनांगकै कारण महिलाहरुको जीवन अशुरक्षित बन्न पुगेको छ । महिलामाथिको बिभेद कुन अवस्थामा पुगेको छ भन्ने उदाहरण बन्न पुगेको छ भागरथी हत्या प्रकरण पनि । आफ्नै नाता पर्ने केटाले गरेको अपराध कति बिभत्स छ भन्ने कुरा घटनाबाट जीवन गुमाएकी नारीतर्फ फर्केर सोचौं र कडा कानूनको ब्यवस्था गरौं भनेर यस लेख मार्फत म फेरि जोड दिन चाहन्छु ।

यसै स्तम्भमा मैले गतबर्ष पनि बलात्कारीलाई यौनांग काटेर सजाय गरिनु पर्ने सुझाव गरेकी थिएँ । तर त्यस्तो कानून बन्न सकेको छैन , त्यसैले नै भागरथी प्रकरणले हामीलाई फेरि झस्काएको छ ।

हाम्रो पिछडिएको समाजमा बलात्कार र हत्या अत्यन्त सामान्य बनिरहेको छ । बावुले छोरीलाई, दाजूले बहिनीलाई समेत बलात्कार गरेका घटनाहरु बाहिर आइरहेका छन् । यस्ता अपराधीहरुलाई कडा सजाय भएका समाचार सम्प्रेषित हुन नपाएकैले भागरथी प्रकरण दोहोरिन पुगेको छ । नारीहरु नभएर पुरुषहरुको जीवन पनि नचल्ने, तर नारीहरु केही होइनन् भन्ने मानसिकता हाम्रो समाजमा व्याप्त छ । यही कारणले गर्दा नै बलात्कार र हत्याका घटना सामान्य बनिरहेका छन् ।

कतिपय घटनामा भने राज्य तहबाटै बलात्कारीहरुलाई बचाउने काम भइरहेको छ । बलात्कारका सम्बन्धमा मात्र होइन बलात्कारको आशयबाट हेरिने दृष्टिकोणलाई समेत यौनहिंसाको अभियोग लगाउन सकिने कानून देशमा बनेको छ । तर कानून प्रभावकारी बन्न सकिरहेको छैन । त्यसैले पनि यौन हिंसा, बलात्कार र हत्याका घटनामा नियन्त्रण हैन बरु बृद्धि भइरहेको पाइन्छ ।

बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ गर्न जरुरी छ ।

नेपालमा बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनका लागि कानुनी व्यवस्था गर्न तथा संविधान संशोधनको  गर्न पनि माग नभएका हैनन् । तर कस्तो कडा सजाय रु  कुनै उल्लेख छैन । पंक्तिकारले गतबर्ष बलात्कारी पुरुषको लिङ्ग काटेर संग्रहालयमा सजाएर राख्ने कानूनी व्यवस्था गरिनु पर्दछ भनेर सुझाव पनि दिएको हो , तर सुझाव सुन्ने र गम्भिरतापूर्वक लिने चलन हाम्रो देशमा छैन । बलात्कारी पुरुषको लिंग काटेर संग्रहालयमा सजाउने र सजाइएको लिंङ्गको मूनि बलात्कारी पुरुषको नाम र उमेरसँगै लिङ्ग काटिएको मिति र घटनाको संक्षिप्त जानकारी समेत लेखिनु पर्दछ भनेर मैले सुझाव गरेकी थिएँ । ताकि त्यो संग्रहालयमा भ्रमण गर्न र नेपालमा बलात्कारको इतिहासबारे वास्तविकता बुझ्न सकिने होस् र त्यस्तो अपराध गर्नु हुँदैन भन्ने शिक्षा सबैलाई प्राप्त होस् भन्ने नै त्यसको उद्धेश्य हो ।

किशोरी, दलित, गरिब र दूरदराजमा रहेका बालिकाहरूमाथि परिवार भित्रैका नातेदारहरुबाट बलात्कारका घटनामा तीव्रता आएको छ । त्यस्ता घटनामा प्रहरीले जाहेरी नलिने, घरपरिवार र समाजले मिलाउने, जनप्रतिनिधिहरु पनि त्यस्ता अपराधीलाई राजनीतिक रंग दिने काम गरेर मिलाउने काममा संलग्न रहने गरेका पाइएका छन् ।  त्यसैले गर्दा कानूनबमोजिम दण्ड सजायको प्रावधान बलात्कारीका लागि प्रभावकारी बन्न सकिरहेको पाईदैन ।

बलात्कारीलाई  घटना भएको ठाउँमै पहिचान गरेर उस्को लिंङ्ग काटेर संग्रहालयमा पु¥याउने अधिकार बलात्कृत नारी वा उनी सम्बद्ध परिवारका सदस्यहरुलाई कानूनले अधिकारको रुपमा ब्यवस्थित  गरिनुपर्छ ।

भागरथी हत्या प्रकरणपछि केही दिन सडकबाट बलात्कारीलाई मृत्यु दण्डको सजाय माग गर्दै प्रदर्शन गरेको पनि पाईयो । तर आक्रोश ब्यक्त भयो सकियो । कानुन बनाउने तर्फ राज्यको ध्यान छैन । फेरि अर्को यस्तै प्रकृतिको घटना दोहोरिए पछि सडकमा आवाज उठ्ला अनि फेरि मत्थर होला ?

मेरो विचारमा मृत्युदण्डको सजाय बलात्कारको घटनामा प्रभावकारी हुन सक्दैन । आपू स्वयम् पनि कानून व्यवसायी महिला भएका नाताले यो दावी गर्न सक्दछु । मृत्यु दण्डको फैसला अदालतबाट तोकिँदासम्म बलात्कारीले आपू बच्ने तमाम् उपायहरु अवलम्बन गर्न सक्ने सम्भावना रहने हुँदा मृत्यु दण्डको कानूनी प्रावधान प्रभावकारी हुँदैन भन्ने निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले पनि बलात्कारीलाई घटनास्थलमै कारवाही गर्न अधिकार पीडित पक्षले पाउनु पर्छ भन्ने पंक्तिकारको तर्क हो । बलात्कारीलाई मृत्यु दण्डको सजायको व्यवस्था छिमेकी देश भारतमा भर्खरै कार्यान्वयन भइरहेको छ । त्यहाँबाट पनि  जानकारी लिन सकिन्छ कि यो कानून प्रभावकारी भइरहेको छैन । मृत्यु दण्डको कानून कार्यान्वयन भइसकेपछि पनि  भारतमा बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन् । त्यसैले मृत्यु दण्ड भन्दा प्रभावकारी दण्ड बलात्कारीको लिंङ्ग काटेर संग्रहालयमा सजाउनुमै हुनेछ , म फेरि पनि दोहोराएर जोड दिन चाहन्छु ।

नेपालको संविधानले नै कसैलाई पनि मृत्यु दण्डको सजाय दिनेगरी कानून बनाउन रोक लगाएको छ । संविधानको भाग ३ को धारा ६ मा सम्मानपूर्वक बाँच्न पाउने हकको उपधारा २ मा कसैलाई पनि मृत्यदण्डको सजाय दिनेगरी कानून बनाइने छैन भन्ने उल्लेख छ ।

त्यस्तै नेपालले अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा पनि हस्ताक्षर गरेको छ, जसका कारण मृत्यु दण्डको सजाय दिने कानून बनाउन सकिदैंन । नेपालले अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धताका सन्धिहरुमा पनि हस्ताक्षर गरेको छ । त्यसैले पनि मृत्यु दण्डको सजाय नेपालको संविधानले गर्न सक्ने अवस्था छैन । तर बलात्कारीको लिङ्ग काटेर संग्रहालयमा सजाउने कानून बनाउन संविधानले रोक लगाएको छैन । यो कानून नै नेपालको लागि सबै भन्दा प्रभावकारी हुने देखिन्छ । कानून बनाउनेहरुको ध्यानकर्षण जरुरी छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...