Logo

भारतबाट निर्यात सहमति नआउँदा दैनिक ८०० मेगावाट विद्युत् खेर जाँदै



रौतहट, २० असोज । भारतबाट निर्यात सहमति नआउँदा आजभोलि दैनिक करीब ८०० मेगावाट(मेवा) विद्युत् खेर गइरहेको छ ।

दशैंमा उद्योग कलकारखाना बन्द भएकाले विद्युतको माग ह्वात्तै घटेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका हाइड्रोपावरबाट भने पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । माग नहुँदा ती आयोजनाबाट करीब ८०० मेगावाट विद्युत् यतिखेर खेर गइरहेको ऊर्जाउत्पादनसँग सम्बद्ध व्यक्तिहरुले बताएका छन् । विद्युत् प्राधिकरणले हाल दैनिक करीब ४०० मेवा विद्युत् मात्र भारतमा विक्री गरिरहेको छ ।

प्राधिकरण स्रोतका अनुसार राति यतिखेर दिनमा करीब ४०० मेवा र रातमा ७०० देखि ८०० मेवासम्म विद्युत् उपभोग हुन नसकी खेर गइरहेको छ । चाडबाड पनि शुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत कम हुने तर उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करीब २०० मेगावाट थप विद्युत् निर्यातको सहमतिका लागि भारतमा प्रस्ताव पठाएको प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २१२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नदिंदा विद्युत् खेर गइरको छ। नेपाल विद्युत् प्राधिकरणले पछिल्लो चार महीनामा ७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ ।

वर्षायामको विद्युत् गत १९ जेठ (२०२२, २ जुन ) बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत विक्री शुरु भएको थियो ।

शुरुमा दुई ओटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा विक्री गरिएको थियो । त्यसपछि २७ जेठ (१० जुन २०२२) बाट दैनिक रुपमा ६ ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा विक्री हुँदै आएको छ ।

प्राधिकरणले केही दिनअघि चार ओटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट विक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

यसअघि प्राधिकरणले चार ओटा जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप चार ओटा जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ ओटा जलविद्युत् आयोजनाबाट उत्पादित २१२ दशमलव ७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य ४ मेगावाटको लिखु खोला ए, २५ मेगावाटको काबेली बी- १, २२ मेगावाटको माईखोला, १४ दशमलव ९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १०० दशमलव ९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४ दशमलव २ मेगावाटको लिखु खोला ‘ए’, २३ दशमलव ५ मेगावाटको सोलूखोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११ दशमलव ८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो । आर्थिक अभियानबाट

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...