Logo

मधेस फकाउ अनेक हथकण्डा अपनाउन थाले काँग्रेस, जसपा र नेकपाका दुबै समुह



जनकपुरधाम, माघ १२ गते । संसद विघटनपछि मुख्य राजनीतिक दलहरूले मधेसलाई सम्झिन थालेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेस, नेकपाका विभाजित दुवै समूह र जनता समाजवादी पार्टीले चुनावी झल्को आउनेगरी तराईरमधेसमा आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् ।

नेकपाका दुई समूह सांगठनिक रूपमा आफू बलियो रहिरहन कसरत गरिरहेका छन् भने कांग्रेस संसद विघटनबिरुद्धको आन्दोलनमार्फत गाउँ पसेको छ ।

संघीय र प्रादेशिक दुवै सरकारलाई तारो बनाएर कांग्रेस आफ्नो गुमेको वर्चस्व फर्काउने प्रयत्नमा छ । मधेसकेन्द्रित दुई ठूला पार्टी एकता भई बनेको जसपा संगठन बिस्तार र आफ्नो पकड कायम राख्न लागिपरेको देखिन्छ ।

संविधानमा पहिचानसहितको अधिकार माग गर्दै २०७२ सालमा तराई–मधेसमा आन्दोलन चर्किएको थियो । तत्कालीन मधेसकेन्द्रित दलहरूको आह्वानमा चर्किएको आन्दोलनले सडक तातेको थियो ।मधेसमा कतै कर्फ्यु लागेको थियो भने कतै प्रहरीले गोली चलाएर स्थिति तनावपूर्ण बनिरहेको थियो ।

आन्दोलन थप उग्र हुँदै गयो । आन्दोलनको समर्थनमा सयौँ किलोमिटरको मानव साङ्लो बनाएर हजारौँ आमनागरिक सडकमा ओर्लिएका थिए ।

तर, सरकारले आन्दोलनकारीको माग सम्बोधन गर्नुको साटो अझै चिढ्याइरह्यो । संविधान जारी हुनुअघि न तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले मधेसका मागप्रति गम्भीर भए, न त संविधान जारी भइसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले नै ।

ओलीले संसद छाड्ने नेताहरूलाई संकेत गर्दै दुईरचारवटा आँप झर्दैमा केही नहुने र मानव साङ्लोलाई माखेसाङ्लो भनेर आन्दोलनकारीलाई थप उत्तेजित पारिरहेका थिए ।

ओलीले त्यतिबेला प्रयोग गरेको शब्दवाणले मधेसमा उनको छवि मधेसविरोधी बनाइदियो । उनका बारे बनेको छवि मधेसमा अझै सुध्रिएको छैन । तर, प्रतिनिधिसभा विघटन भएयता प्रधामन्त्री ओली पछिल्लो समय मधेसमा फेरि आफ्नो वर्चस्व जमाउने कसरतमा जुटेका छन् ।

प्रतिनिधिसभा विघटन गर्नुका कारण र आगामी रणनीतिबारे प्रशिक्षणका लागि ओली समूहका नेकपाले गत १५ पुसदेखि प्रदेश २ का आठवटै जिल्लामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको थियो । ती कार्यक्रममा उपप्रधानमन्त्री तथा मन्त्रीहरू ईश्वर पोखरेल, विष्णु पौडेल, प्रभु साह, रघुवीर महासेठ, जुली महासेठ, लीलानाथ श्रेष्ठ, महेश बस्नेतलगायतका केन्द्रीय नेताहरू खटिए ।

मधेसप्रतिको छवि सुधार्नकै लागि भन्दै ओली समूहसम्बद्ध युवा संघले काठमाडौंमा धोती जुलुस निकाल्दै आफूहरू मधेसीको सम्मान गरिरहेको सन्देश दिन खोज्यो । धोती जुलुसमा ‘धोती कुर्ता मधेसके पहिचान बा, केपी ओली हमर शान बा’ लगायतका नारा लगाइएको थियो । सो भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुवात मैथिली भाषामा गरे ।

आफ्नो छवि चिर्ने प्रयास गर्दै पार्टीभित्रको आन्तरिक लफडामा फसेका ओली अहिले फेरि एकपटक मधेसलाई सम्झिन थालेका छन् । तर, मधेसी समुदाय लोभ्याउन प्रधानमन्त्री ओलीले मात्र आफ्नो तागत लगाएका होइनन्, आफ्नो गढ मधेसमा कमजोर भएको नेपाली कांग्रेससमेत पुरानै वर्चस्व खोज्न पछिल्लो समय राजनीतिक उथलपुथलको लाभ लिँदै आन्तरिक रूपमा संगठन मजबुत बनाउनतर्फ लागेको छ । कांग्रेसले पछिल्लो समयमा सरकारविरुद्ध थालेको प्रदर्शनमा व्यापक भीड जुटाउँदै शक्ति प्रदर्शन गर्दै छ ।

कांग्रेसलाई मधेसमा पुरानै लयमा फर्काउन भन्दै उपसभापति बिमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, गगन थापा, आनन्द ढुंगानालगायतका केन्द्रीय नेताहरू लगातार मधेस झरेर सभा आयोजना गर्दै छन् ।

प्रतिनिधिसभा विघटन, भ्रष्टाचार, हत्या हिंसाका बढ्दो घटना, महँगीलगायतका मुद्दामा सरकारविरुद्ध गरेको आन्दोलनमा समेत कांग्रेसले हजारौँ कार्यकर्ता उतार्दै ओली नेतृत्वको संघीय सरकार र प्रदेश २ मा लालबाबु राउत सरकारविरुद्ध आक्रामक देखिन्छ ।

प्रदेश सरकारसमेत असफल सावित भइसकेको भन्दै कांग्रेसले अगामी चुनावका लागि कांग्रेसलाई विजयी बनाउन तयार भएर बस्न आह्वान गर्दै आएको छ ।

संविधान जारी गर्दाको बखत आन्दोलनकारीको माग बेवास्ता गरेको कांग्रेस पछिल्लो समय मधेसमा संविधान संशोधनको मुद्दासमेत जोडतोडका साथ उठाउने कोसिसमा छ ।

मधेस केन्द्र बनाई राष्ट्रिय राजनीतिको भर्‍याङ चढ्ने कोसिसमा जुटेको जनता समाजवादी पार्टीले समेत आफ्नो गढ बचाउन कांग्रेस र कम्युनिस्ट पार्टीलाई कडा आलोचना गर्दै आएको छ ।

पार्टीभित्र आन्तरिक विवाद चर्किदा पनि जसपा आगामी चुनाव लक्षित गर्दै पछिल्लो समय संगठन सुदृढीकरण अभियानतर्फ केन्द्रित छ ।

जसपा नेतृत्वको प्रदेश २ सरकारले अपेक्षित काम नगरेको भन्दै आलोचना भइरहेकाले समेत जसपा आफ्नो भोट बैंक बचाउन हरसम्भव कोसिसमा जुटेको छ ।

संघीय सरकार संघीयताविरोधी रहेको र अधिकार खोसेर कामै गर्न नदिएको भन्दै मधेसमा जसपा आफ्ना कमजोरी लुकाउने प्रयासमा छ ।

उसले फेरि पनि मधेस आन्दोलन स्मरण गराउँदै संविधान संशोधन र मधेसीको हकअधिकार आफ्नो पार्टीले मात्र दिलाउन सक्ने वकालत गर्दै संगठन निर्माण र ‘ड्यामेज कन्ट्रोल’ गरिरहेको छ ।

उसो त, स्थानीयस्तरमा करिब एक वर्षअघिदेखि नै जसपाले संगठन विस्तार गर्दै आएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेस, नेकपा र जसपा सबैले मधेसमा आफ्नो पकड बनाउन सबै हथकण्डा अपनाइरहेको देखिन्छ । संगठन मजबुत बनाउन तीनवटै मुख्य दलहरूले तल्लो तहदेखि नै मिहिनेत गरिरहेका छन् ।

मधेस आन्दोलनका चर्चित अनुहारदेखि आफ्ना संगठनबाट असन्तुष्ट रहेका नेता तथा आन्दोलनकारी युवालाई दलहरूले आ-आफ्नो पार्टीमा भित्र्याउने कोसिस गर्दै छन् ।

तर, यी राजनीतिक दलहरू जनताका लागि नभएको र सत्ताकै लागि मधेस झरेर अनेक हथकण्डा अपनाउने उपायमा जुटेको राजनीतिक विशलेषक डा. सुरेन्द्र लाभ बताउँछन् ।

वर्तमान स्थितिमा राष्ट्रवादको नारा लगाएर सत्तामा पुग्नु सम्भव नभएकाले जनतालाई सिँढी बनाएर सत्ताको उपभोग गर्न मधेसप्रति नेकपा, कांग्रेस, जसपालगायतका राजनीतिक दलहरूले झुटो प्रेम देखाउन खोजेको उनको बुझाइ छ ।

लाभले भने, ‘यहाँ सबै नेता, पार्टीका नाम र अनुहार मात्र फरक छन् । यिनीहरूसँग काम थिएन । अब सबैले काम पाए । मधेसप्रति कसैको प्रेम छैन, मुद्दा भजाउन मात्र आएका हुन् ।’

देशको आधा जनसंख्या मधेसमा भएकाले सत्तामा पुग्न नेताहरू मधेस झरेको उनको ठम्याइ छ । ‘कुनै राजनीतिक दल आमजनताका लागि छैनन् । मधेसप्रति प्रेम भएको भए सबै पार्टी मिलेर संविधान संशोधन गरिसकेका हुन्थे,’ उनले थपे ।

तर, मधेस आन्दोलनपछि देशको मूलप्रवाहका पार्टीले आफूलाई दबिएको महसुस गरेकाले अहिले उनीहरू फेरि मधेसमा आफ्नो स्पेस खोजिरहेको विश्लेषक रोशन जनकपुरीको भनाइ छ ।

लोकप्रिय र भावनात्मक रूपले मधेसवादी दल मजबुत भएको र तिनीहरूलाई उछिन्न कांग्रेस र कम्युनिस्ट दुवैले प्रयास गरिरहेको जनकपुरीले बताए ।

‘पहाड उनीहरूका लागि नापजोख गरिसकिएको ठाउँ हो । तर, तराईमै उनीहरूले आफूलाई नापतौल गर्न सकेका छैनन्,’ जनकपुरीले भने, ‘पहाडमा कांग्रेसलाई लाग्छ कि प्रचण्ड र ओलीले हावी हुन दिँदैनन् । त्यसैले आफ्नो स्थिति मजुबत बनाउन तराईमै मिहिनेत गरिरहेको छ । नेकपाले पनि सत्ता हाँक्न, मजुबत बन्न मधेसको सहारा लिएको छ ।’

जसपाले आफूलाई राष्ट्रिय पार्टी भने पनि तराईमा मात्र आफू मजबुत रहेको महसुस गरेको उनको बुझाइ छ । मधेसमा प्रचण्ड–नेपाल समूह बलियो रहने उनको बुझाइ छ । तर, अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरिदिए अगामी चुनावप्रति उनले शंका व्यक्त गरे ।

‘प्रधानमन्त्रीजीले आफ्जो पार्टी चुनावमा फेरि पहिलो पार्टी हुने दाबी गरिरहनुभएको छ, जसरी पञ्चायतकालमा प्रशासन, पैसाको बलमा बुथ कब्जा गरिन्थ्यो, त्यस्तो नहोला भन्न सकिन्न,’ उनले थपे ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...