Logo

मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिरको निरीक्षण, गाडी र जुत्ताचप्पल बाहिरै राख्न निर्देशन



जनकपुरधाम, पुस २९ गते। मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उक्त योजनाको प्रगतिवारे जानकारी लिदै दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिए । उनले पहिलो चरणको कार्य सम्पन्न भए लगतै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको कार्य शुरु गरिने जानकारी समेत गराए ।

दोस्रो चरणको योजनाको लागी मन्दिर संग सरोकार राख्ने महन्थ, नागरिक समाज , राजनीतिकर्मी ,संचारकर्मी समेतको राय सुझाव लिन समेत उहाँले परियोजना प्रमुखलाई निर्देशन दिए ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिवन्ध गर्नुका साथै श्रद्धालुहरुलाई जुत्ता चप्पल समेत परिसर बाहिरै राख्न लगाउनका लागी सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई निर्देशन दिए ।

मन्दिरलाई सधैभरि सफा राख्न प्रदेश सरकारले सफाई कर्मी नै नियुक्त गर्ने जानकारी दिदै मुख्यमन्त्री राउतले मन्दिरको सौन्दर्यीकरणको लागी रकमको आभाव हुन नदिने प्रतिबद्धता गरे ।

सोही अवसरमा मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको टावर लाइटको उद्घाटन समेत गरेका छन् ।

स्थलगत निरीक्षणको क्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डिई भगवान झा सहितको उपस्थिति रहेको थियो ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...