Logo

यूपीमा आन्दोलित किसानहरुमाथि मन्त्रीका छोराले कार कुदाए, ८ जनाको मृत्यु, प्रियंका गान्धीसहितका नेताहरू पक्राउ



एजेन्सी- लखनउ, असोज १८ गते ।भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो ।

लखिमपुर खिरीमा भइरहेको प्रदर्शनका क्रममा केही किसानहरू मारिएका खबर छ । बीबीसी हिन्दीले विराेध प्रदर्शनका क्रममा ८ जना किसानकाे मृत्यु भएकाे जनाएकाे छ ।

भारतका केन्द्रीय राज्य मन्त्री आशिष मिश्रका छाेराले धर्नामा बसेका किसानहरूमाथि कार कुदाएपछि चार जनाकाे मृत्यु भएकाे आराेप लागेकाे छ । त्यसपछि हिंसा भड्किँदा थप चार जना गरी आठ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटनापछि कांग्रेस महासचिव गान्धी लगायतका नेताहरू त्यहाँ जाने क्रममा प्रहरीले रोकेको हो ।

मृतकका परिवारलाई भेट्न जाने क्रममा गान्धीलाई हिरासतमा लिइएको र त्यसक्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच सामान्य झपड पनि भएको बताइएको छ ।

कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिने क्रममा पुरुष प्रहरीले उनीमाथि हातपात गरेको आरोप लगाएका छन् ।

प्रियंका गान्धीले आफ्नो गिरफ्तारीको वारेन्ट नोटिस देखाउन माग गरेकी थिइन् । उनले आफूलाई जबर्जस्ती हिरासतमा लिए अपहरण ठहरिने चेतावनी दिइन् ।

अर्काेतिर लखिमपुरमा किसान नेता र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा केही किसानको मृत्यु भएपछि लखिमपुर तनावग्रस्त छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...