Logo

वीरगञ्जको बसडिलवाका २० छात्रालाई साइकल वितरण



वीरगञ्ज, १४ मंसिर ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बसडिलवास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका २० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानअन्र्तगत कक्षा ८ उतिर्ण गरेर ९ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य करिमा बेगमले वितरण गरिएको साइकलले छात्राहरुलाई अध्ययनमा उत्प्रेरित गर्ने बताईन् । अध्ययनका लागि हौसला दिनुका साथै विद्यालय बाहिर रहेका छात्राहरुलाई पनि विद्यालय आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने प्रदेश सांसद बेगमको विश्वास छ ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले प्रदेश सकारको लोकप्रिय कार्यक्रममा विपक्षीहरुको नजर लागेको बताएका छन् । राष्ट्रपति विद्या देवी भण्डारीले समेत बेटी पढाउ, बेटी बचाउ कार्यक्रमको सह्राना गर्दै अन्य प्रदेशमा पनि लागु गर्नुपर्ने बताइरहेको बेला यसको विरुद्धमा आवाज उठाउनु व्यर्थ हुने अध्यक्ष यादवको भनाई छ ।

कार्यक्रममा जसपा पर्साका सचिव तबरेज अहमद, संघिय शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, सचिव रामाधर साह, वडा नम्बर २९ का वडाअध्यक्ष धर्मेन्द्र प्रसाद थारु, विद्यालयका पूर्व प्रधानाध्यापक तुलसी महत, राधाकृष्ण यादव लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दकिशोर गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...