Logo

वीरगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख भट्टराईले गरिन विद्यार्थीमाथि दुर्व्यवहार



वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसकी प्रमुखले छात्राहरुसँग दुर्व्यहार गरेको घटना सार्वजनिक भएको छ । क्याम्पस प्रमुख जमुना भट्टाराईले गएराति विद्यार्थीहरुलाई गालीगलौच गर्दै हातपातसमेत गरेर दुर्व्यवहार गरेकी हुन् ।

प्रमुख भट्टराईले विद्यार्थीहरुलाई गालीगलौज र हातपात गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुँदै प्रमुख भट्टराइले विद्यार्थीहरुलाई गमला उठाएर हान्न खोजेको, केहि छात्रालाई हातले हिर्काएको र तथनाम गालीगलौज गरेको दृश्यसमेत देख्न सकिन्छ ।

चैत ५ मा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको विषयलाई लिएर नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो। क्याम्पस प्रमुख भट्टराईले आइतबार राती नेविसङ्घलाई जानकारी नै नगराई ताल्चा फुटाएर कार्यकक्षमा प्रवेश गरेकी थिइन् । ताल्चा फुटाइएको विषयमा विवाद हुँदा प्रमुख भट्टराईले विद्यार्थीहरुसँग दुर्व्यवहार गरेकी हुन् ।

ताल्चा फुटाइएको जानकारी पाएपछि बुझ्न जाँदा क्यामपस प्रमुखले आफूहरुलाई गालिगलौज र हातपात गर्दै दुर्व्यहार गरेको नेविसङ्घ वीरगञ्ज नर्सिङ क्याम्पस एकाई कमिटिकी अध्यक्ष सबिना सुनारले बताइन । ‘क्याम्पसमा चैत्र ५ गते सम्पन्न स्ववियू निर्वाचनमा क्याम्पस चिफ म्यामको भूमिका शङ्कास्पद देखिएपछि हामीले विभिन्न मागहरु राख्दै उहाँको कार्यकक्षमा तालबन्दी गरेका थियौँ, हिजो अचानक ताल्चा फोडेर चिफ म्याम प्रवेश गर्नुभएको रहेछ । हामी त्यहाँका पुगेर देख्दा विभिन्न फाइलहरु जताततै फालिएको थियो,’ एकाई अध्यक्ष सुनारले भनिन्, ‘किन ताल्चा फोडेर भनेर प्रश्न गर्दा म्याम हामीमाथि जाइलाग्नुभयो । हामीलाई गालिगलौज गर्दै हातपात पनि गर्नुभयो ।’

सुनारकाअनुसार क्याम्पस प्रमुखले ताल्चा तोड्नुका साथै विद्यार्थीहरुले त्यहाँ टाँसेको विज्ञप्तिपनि उनले च्यातेर फ्याकिदिएकी छन् । प्रतिवाद गर्दा उनले गालिगलौज गरेर आफूलाई कसैको डर नभएको जस्तो प्रतिक्रिया दिएको सुनारले बताइन् । सुनारले भनिन्, ‘हाम्रो सङ्गठनले लगाएको ताल्चा खोल्दा हामीसँग कुनै समन्वय नै गरिएको थिएन । किन खोलेको भनेर प्रश्न गर्न जाँदा चिफ म्यामले उल्टै म मेरो पावर अब देखाइदिन्छु, तिमिहरुले जे गर्न सक्छौ गर, जाउ पत्रिकामा छपाइदेउ भन्दै हामी माथि झम्टिनु भयो, म समेत ४/५ जना माथि हातपात पनि गर्नुभयो, फुलको गमला नै हामीतिरै ताकेर हान्न थालेपछि भागाभाग भयो ।’

विद्यार्थीहरुले आइतबार राति नै शान्ति सुरक्षाको माग गर्दै क्याम्पस प्रमुख भट्टराईविरुद्ध वडा प्रहरी कार्यालय विर्तामा उजुरी दिएका छन् । क्याम्पसको होस्टेल भित्र आफूहरु असुरक्षित भएको बताउँदै उनीहरुले भट्टराईविरुद्ध ठाडो उजुरी दिएका हुन् । आइतबार रातिको घटनापछि विद्यार्थीहरु निकै सशङ्कित भएका छन्, पढ्ने र बस्ने माहोल बिग्रिएको सुनारले बताइन ।

क्याम्पस प्रमुख भट्टराईले स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) लाई जिताउन् शङ्कास्पद भूमिका खेलेको नेविसङ्घले आरोप लगाउँदै आएको छ । अनेरास्ववियूलाई निर्वाचित गराउन भट्टराईले विद्यार्थीहरुको कोठाकोठामा पुगेर भोटसमेत मागेको उनीहरु बताउँछन् । चैत्र ५ गते नर्सिङ क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनमा एक सदस्य बाहेक सभापतिसहित सबै पदमा अनेरास्ववियूकै उम्मेदवार विजयी भएका थिए ।

चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसङ्घले क्यामपस प्रमुखलाई एमालेको कार्यकर्ता भएको आरोप लगाउँदै राजीनामाको मागसहित उनको कार्यकक्षमा तालाबन्दी गरेको थियो । प्रमुख भट्टराइले त्यहीं ताल्चा आइतबार राति केही विद्यार्थीहरुको उपस्थितिमा फुटाएकी हुन् ।

क्याम्पस प्रमुख भट्टराईले भने आइतबार राती आफूले विद्यार्थीहरुसँग कुनै कीसिमको दुर्व्यहार नगरेको प्रतिक्रिया दिइन् । विद्यार्थीहरुलाई अनुसासनमा ल्याउन ठूलो स्वरमा कराएको स्वीकार गर्दै उनले भनिन्, ‘यो कुनै ठूलो कुरा होइन, सम्झाउँदा नमानेपछि अलि ठूलो स्वरमा बोलदिएको मात्रै हो । अत्ति नै भएपछि विधार्थीहरुलाई अनुसासनमा ल्याउन त्यसो गरेकी हुँ ।’

परिक्षाका बेला तालाबन्दी नगर भनेर आग्रह गर्दा विधार्थीहरुले नमानेपछि स्थिती केहि असमान्य बन्न पुगेको उनले स्वीकारीन् । आइतबार राति नेविसङ्घका विद्यार्थीहरुकै उपस्थितिमा आफूले कार्यकक्षमा लागेको तालाबन्दी खोलेको भट्टराईको दावी छ ।

यता, नेविसङ्घकी एकाई अध्यक्ष सुनारले भने क्याम्पस प्रमुखको दावीलाई झुठो बताउँदै भनिन्, ‘सारा सङ्गठन आज मसँग उभिएको छ । चिफ म्यामले दावी गरे जस्तो नेविसङ्घको कोही पनि विद्यार्थी तालाबन्दी खुलाउने समयमा उपस्थित थिएन् । दुई-चार जना विद्यार्थीलाई उनले भ्रममा पारेर यस्तो गरेकी हुन् । उनीहरुपनि नेविसङ्घसँ आबद्ध छैनन् ।’

सुनारले कार्यकक्षमा गरिएको तालाबन्दीका कारण परिक्षामा कुनै असर नपर्ने दावी गरिन । ‘हामीले पठनपाठन र परिक्षालाई मध्यनजर गर्दै क्याम्पसस्थित प्रशाशनिक भवनको तालाबन्दी खुलाइदिएका छौँ । प्रमुखको कार्यकक्षसँग परिक्षा पठनपाठन र परिक्षाको कुनै सरोकार नै छैन । प्रमुख म्यामले दावी गरे जस्तो परिक्षा सञ्चालन र अन्य सेवा प्रवाहमा कुनै समस्या आउँदैन,’ उनले भनिन् ।’

क्याम्पसकी स्ववियू सभापति मनिषा चौधरीले भने सुरुमा नेविसङ्घ निकट विद्यार्थीहरुले क्याम्पस प्रमुख भट्टराईसँग दुर्व्यहार गरेको आरोप लगाइन । चौधरीकाअनुसार नेविसङ्घ निकट विद्यार्थीहरुले  तालबन्दी खोलेको विषमा भइरहेको कुराकानीका क्रममा प्रमुख भट्टराईसँग दुर्व्यहार गरेको र त्यसपछि आफ्नो बचाउमा प्रमुखले उनीहरुलाई त्यहाँबाट जान लगाएको बताइन । ‘मैले बुझेअनुसार सुरुमा नेविसङ्घका साथीहरुले चिफ म्यामसँग दुर्व्यहार गरेका रहेछन्, म्यामले आफ्नो बचाउमा उनीहरुमाथि कराउनु भएको हो । सामाजिक सञ्जालमा आधार कुराको भिडियो बनाएर दुष्प्रचार गरिँदै छ,’ उनले भनिन् । आफू अहिले अस्वस्थ्य भएको कारणले यस विषयमा अझै धेरै बुझ्न नसकेको उनले बताइन ।

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले क्याम्पस प्रमुखविरुद्ध विधार्थीहरुले उजुरी दिएको बताए । क्याम्पस प्रमुख भट्टराइले आइतबार राती गरेको हर्कतको भिडियो पिडित छात्राहरुले आफूलाई पनि उपलब्ध गराएको जानकारी दिँदै शिवाकोटीले क्याम्पस प्रमुखलाई झिकाएर यसबारेमा छलफल गरिने बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...