Logo

वीरगञ्ज नाकाबाट ६ महिनामा ४८ अर्बको इन्धन भित्रियो



वीरगञ्ज, माघ १८ गते । प्रदेश २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको पुससम्ममा ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा  ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ । यसमध्ये २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो ।

तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६-७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए ।

चालु आर्थिक वर्षको ६ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको ६ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले १६ अर्ब ६२ करोड डिजेलबाटै राजश्व उठाएको छ । सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ । पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्ज भन्सारले जनाएको छ ।

भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ । सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा दुई लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्यांकले जनाएको छ ।

भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ । सोही विलिङ मेसिनबाट के कति परिमाणको डिजेल आउँछ त्यही अनुसार भन्सारले राजश्व उठाउने गरेको छ । त्यहाँ रहेको मिटरमा परिमाण देख्न सकिन्छ । रासस

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...