Logo

जनगणनामा गम्भिर त्रुटी देखिएको भन्दै तथ्यांक कार्यालयलाई ज्ञापन



जनकपुरधाम, मंसिर १४ गते मैथिली साहित्यकार सभाले राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटी भएको भन्दै तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापन पत्र बुझाएको छ ।

मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अनुवाईमा कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चलेको जनगणनामा व्यापक त्रुटि भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गर्दै जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुद्वारा तथ्यांक कार्यालय प्रदेश २ का प्रमुख विमलकुमार यादवलाई ज्ञापन पत्र बुझाइएको छ ।

‘सप्तरी जिल्लास्थित हनुमाननगरको घटना ज्वलन्त उदाहरण हो जहाँ गम्भीर त्रुटि गरिएको कारण जनगणनाका सुपरिवेक्षकलाई बर्खास्त गरिएको थियो । यस्ता गडबडी सप्तरी, सिरहा, धनुषा, महोत्तरीसहित धेरैजसो जिल्लामा पाइएका छन् ।

सुपरिवेक्षक र गणकहरुले सबैका घरमा तथ्याङ संकलन गर्न नगएको, पेनको सट्टा सीसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसंग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर गडबडी विभिन्न जिल्ला र पालिकाहरुमा देखिएका छन्,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मैथिली भाषा बोलिने क्षेत्रमा जातिवादको राजनीति गर्ने राजनीतिक व्यक्ति, केही जातिवादी संघ–संस्था, कबीरपन्थी संस्था तथा कथित मगही र बज्जिका अभियन्ताहरुको निर्देशनमा मैथिलीभाषीको संख्या घटाउन मैथिली भाषालाई नै मगही र बज्जिका भनी फारममा उल्लेख गरिएको मिथ्याङक तथ्याङक कार्यालयमा पठाइएको विभिन्न घटना र प्रमाणबाट प्रमाणित भईसकेको ज्ञापन पत्रमा दावी गरिएको छ ।

मैथिली बोलिने क्षेत्रहरुबाट पठाइएको जनगणनासम्बन्धी तथ्याङको छानबीन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकहरुमाथि कारवाही गर्न माग गरिएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...