Logo

नेकपा एसमा नातागोतालाई प्राथमिकता दिएकोप्रति सांसद मन्जु यादवले पोखिन् आक्रोश



जनकपुरधाम, कार्तिक १ गते । नेकपा एकीकृत समाजवादीले विस्तार गरेको केन्द्रीय कमिटी र कार्यविभाजनप्रति नेकपा प्रदेश सांसद मन्जु यादव असन्तुष्टि जनाएकी छन् ।

केन्द्रीय समिति विस्तार र कार्यविभाजनमा नातागोतालाई प्राथमिकता दिएको भन्दै उनले समाजिक सञ्जालमा पोस्ट लेख्दै असन्तुष्टि जनाएकी हुन् ।

मापदण्ड बनाएर केन्द्रीय सदस्य छनोट गरिएको पार्टीले बताए पनि त्यो मापदण्ड व्यक्ति विशेषमामात्र लागू गरिएको यादवले बताइन् ।

प्रदेश २ बाट महिलालाई केन्द्रीय कमिटीमा मनोनयन नगरिएको, माथिल्लो कमिटीमा आफू बसेर तल्लो कमिटीमा नातागोतलाई मनोनित गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई क्षति पुर्‍याउने उनको भनाइ छ।

नेकपा(एकीकृत समाजवादी) प्रदेश २ को ‘दलाल’ प्रवृत्तिका पुरुषका लागि मात्र भएको उनको आरोप छ।

‘प्रदेश २ भनेको यस पार्टीका लागि दलाल प्रवृत्ति भएको पुरुषका लागि मात्र हो?,’ कसैको नाम उल्लेख नगरी उनले भनिन्,‘माथिल्लो कमिटीमा आफू बस्ने अनि तल्लो कमिटीमा श्रीमती, साली र नातागोतालाई मनोनित गर्ने?’

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएकी उनले माथिल्लो कमिटीमा रहेका नेताहरूलाई चुनाव लडेर देखाउन चुनौती पनि दिएकी छिन्।

‘चुनौतीका साथ भन्छु आउने चुनावमा माथिल्लो कमिटीमा बसेका नेताहरू प्रतिनिधिसभाको चुनावमा टिकट लिने आँट गरोस्,’ उनी भन्छिन्,‘हामी जस्ता महिलाहरू कसैको दास होइनौं। हुन सक्दैनौं।’

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...