Logo

पहुँच नहुनेले कोरोना विरुद्धको खोप लगाउन पाएनन् : मुख्यमन्त्री राउत



जनकपुरधाम ०७ असार ।। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गाउँका मानिस कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबाट वञ्चित भएको बताएका छन् ।

पहुँच भएका व्यक्तिहरुले मात्र खोप पाएको उनको भनाई छ । अष्ट्रेलियाली सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोग तथा बागमती सेवा समाजको सहजीकरणमा प्रदेशको आठवटै जिल्लामा कोभिड–१९ विरुद्धको खोप सुदृढिकरणका जारी घुम्ती खोप सेवाको निरन्तरता दिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

‘साँच्चिकै भन्ने हो भने जसको पहुँच थियो, नजिकका थिए उनैले खोप लगाउन पाए । जो गाउँ समाजमा बस्छन अहिलेपनि खोप भन्दा बाहिर छन । वास्तविकता यहीँ हो,’ उनले भने ।

खोपको पहुँच बढाउन संचालित यो परियोजनाको कामलाई मुख्यमन्त्री राउतले प्रशंसा गरे । परियोजना अन्तर्गत गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा विरामीहरुलाई घर–घरमै गएर खोप लगाइँदैछ ।

बालबालिकालाई पनि अगामी दिनमा यस्तै घुम्ती सेवा संचालन गर्नुपर्ने मुख्यमन्त्री राउतले बताए । वञ्चित भएका १ लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने परियोजनाको लक्ष्य रहेको वागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए ।

हालसम्म चार जिल्लाका ३८ हजार बढी व्यक्तिलाई खोप लगाइएको र बाँकी चार जिल्लामा आजैदेखि खोप सेवा सुरु गरिएको उनले बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...