Logo

प्रदेश २ मा खोप भण्डारण गृह स्थापना, ४ लाख डोज खोप भण्डारण



जनकपुरधाम, पुस २ गते । प्रदेश नम्बर २ मा खोप भण्डारण गृह स्थापना भएको छ। यसअघि प्रदेश २ मा खोप भण्डारण गृहको अभाव थियो।

नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको हो।

पहिलो चरणमा खोप भण्डारण गर्ने दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले जानकारी दिए।

चालिस हजार लिटर क्षमताका दुईवटा युनिटको निर्माण गरिएको छ। त्यसमा लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने यादवले बताए।

प्रदेश नम्बर २ मा खोप भण्डारणको अभाव हुँदा १ को विराटनगर तथा बागमती प्रदेशको हेटौँडाबाट खोप मगाउनुपर्ने समस्या थियो।

यसअघि खोपको समयमा आपूर्ति नभएका कारणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो । निकट भविष्यमा नै थप दुईवटा युनिट निर्माण गरेपछि खोप भण्डारण गृहको क्षमतामा वृद्धि गर्ने तयारी छ। युनिट थप भएपछि क्षमतामा निकै वृद्धि भएर अन्य प्रदेशमा पनि पठाउन सकिने यादवले बताए।

खोपका लागि उचित तापक्रम नभएको खण्डमा खोपको प्रभाव कम भएर कतिपय अवस्थामा खोपले काम नगर्ने अवस्था आउने भएकाले खोप भण्डारण गृहको निर्माण निकै महत्वपूर्ण मानिन्छ।

यादव बालरोग विशेषज्ञसमेत हुन्। अब नियमितरूपमा बालबालिकाका लागि प्रदान गर्ने दादुरा रुवेला, बिसीजी, डिपीटी, पोलियो, एफआइपिभी, विसिभी, रोटाजस्ता खोपसहित एन्टिस्नेक भेनमसहित खोपहरू भण्डारणका लागि समस्या नहुने उनले बताए।

प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशको मध्यभागमा भण्डारगृह भएकाले आपूर्तिमा सहजता हुने विश्वास व्यक्त गरे।

अहिले नवनिर्मित प्रदेश खोप भण्डारणगृहमा कोरोनाविरुद्धको मोडर्ना खोपका चार लाख ४७ हजार डोज भण्डारण गरेर राखिएको छ।

खोप भण्डारणगृह निर्माण भएपछि पालिकाको वडासम्म सञ्चालन हुने नियमित खोप कार्यक्रमलाई ठूलो मद्दत पुग्ने यादवले बताए। रासस

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...