Logo

प्रदेश २ मा सुरु भयो विद्युत प्रणाली सुधारको काम



जनकपुरधाम, मंसिर २६ गते । प्रदेश २ मा विद्युत प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ ।

शुक्रवार ग्रामिण बिद्युतिकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ ।

आयोजना संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले सबस्टेसनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

आयोजनामार्फत प्रदेश नं २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत वितरण प्रणालीको सुदृढीकरण तथा पुनस्र्थापना र पूर्ण विद्युतीकरण गरिने छ ।

आठ जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणहरुसहितका ३३/११ केभी क्षमताका १० वटा सबस्टेसनको निर्माण गरिने छ ।

साथै, ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका पाँच सय थान नयाँ वितरण ट्रान्सफर्महरु जडान गरिने छ ।

आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत संचालित छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...