जनताको समग्र कल्याणले नै मुलुकको सरकारको औचित्य पुष्टि गर्छ । सरकारले कस्तो नीति बनाउछ र कसरी त्यो कार्यान्वयन गर्छ त्यसबाट उसको प्रभावकारिता एवं औचित्यको मुल्यांकन हुने गर्छ ।

भीम उपाध्याय

जनताका खाँचो के के हुन् ? मानिसका जिवनभरका प्रयत्न, क्रियाकलाप र दौडधुप तिनको अनेक आवश्यकता पूर्ति गर्नका निमित्त नै हुन्छन् । सन् पचासको दशकमा यसलाई समाजशास्त्री अव्राहम मास्लोले ५ चरणमा विभाजन गरेका थिए, जसलाई मास्लोको आवश्यकताको सृंखलाको ५ वर्ग भनिने गरिन्छ । ती हुन, भौतिक–आवश्यकता, सुरक्षा–आवश्यकता, सामाजिक–आवश्यकता, सम्मान–आवश्यकता र आत्मज्ञान–आवश्यकता । सम्मानको आवश्यकतालाई स्वायत्तता र पर्यावरणीय आवश्यकतामा थप विभाजित गरिएका छन् । यसरी हेर्दा ६ वटा आवश्यकता पूर्ति गर्नमा नै मानिसको सारा जिन्दगी वितेको हुन्छ । यिनै ६ आवश्यकता पूर्ति गर्नका लागि सरकारले विकासको नीति बनाउनु पर्छ वा बनाउछ जसले त्यो राम्ररी गर्नसक्दैन, त्यो सरकार असफल ठहरिन्छ । र, विलिन हुन्छ ।

राष्ट्रिय विकासलाई ३ वर्गमा विभाजन गर्न सकिन्छ । आर्थिक विकास जसले आम्दानीलाई संकेत गर्छ, सामाजिक–आर्थिक विकास जसले मास्लोको आवश्यकताहरुलाई सम्वोधन गर्छ, र सामाजिक विकास जसले समाजको असमानतालाई दर्शाउछ । जमीन, जनश्रम, पुँजि, व्यवस्थापन, सरकार संचालन र आन्तरिक एवं बाह्यव्यापार आर्थिक विकासका आधारहरु हुन् । भौतिक, सुरक्षा, अपनत्वपन, सम्मान र आत्मज्ञान सामाजिक–आर्थिक विकासका आधारहरु हुन् । त्यसैगरी, धनि–गरिब, सहरी–ग्रामीण, निजी–सार्वजनिक, महिला–पुरुष, अग्र–पश्च जातजाति आदिबीच विद्यमान असमानताको अन्त्य सामाजिक विकासका आधारहरुका मापदण्ड मानिन्छन् । तसर्थ, मुलुकको विकास त्यहाका वासिन्दाको नै समग्र विकास हो ।

आम्दानीको निश्चित परिमाणको सिमासम्म पुर्याउने अठोट गरी त्यहा पुर्याउनु आर्थिक विकास हो । नेपालको अहिलेको प्रतिव्यक्ति आय करिब ८ सय अमेरिकी डलर छ । १० वर्षमा यसलाई ३ हजार डलरमा पुर्याएर मध्यमस्तरको विकसित मुलुक बनाउने घोषणा सरकारले गरिरहेका छन् । यति आय पुर्याउन सकियो भने प्रत्येक नेपाली जनतालाई खाना पकाउन, नुहाउन, लुगा र अन्य सडक घर सफा गर्न पुग्ने परिमाणमा जल उपलव्ध भएको हुनेछ । त्यस्तै खाना पकाउन र अन्य घरायसी उपकरण चलाउन विद्युत उर्जा, घरआगनका लागि घडेरी जमीन, सडकका लागि आवश्यक जमीन, खेल्न र आमोदप्रमोदका लागि पार्क वा खेलमैदान र रंगशालाहरुको सुविधा प्राप्त हुनेछन् । मध्यमस्तरको आर्थिक विकासको अवस्थाको राष्ट्रिय परिदृश्यमा यस्ता सामान्य घरायसी आवश्यकताहरुको पर्याप्त परिपूर्ति भइसकेको हन्छ ।

सामान्यस्तरमा विकसित मुलुकको आर्थिक सामाजिक पक्षको स्वरुपमा परिवर्तन भइसकेको हुन्छ । पिउने पानी, घरायसी प्रयोजनको लागि इन्धन, प्राथमिक शिक्षाको सुविधा आदि बाच्नका लागि नभई नहुने भौतिक आवश्यकता हुन् । आवासका लागि घडेरी, कम्प्युटर साक्षरता, व्यावसायिक शिक्षाको सुविधा, इन्टरनेट, सुरक्षा सम्वन्धी आवश्यकता हुन्, यसविना मान्छे आफूलाई जीवनयापन सुरक्षित ठान्दैन । सार्वजनिक यातायात, सडक आदि सामाजिक–आवश्यकता हुन्, यसविना समाज-समाजबीच सामाजिक सम्वन्ध स्थापित हुन सक्दैन । दूरसंचार, व्यक्तिगत यातायात, सरसफाई, भौतिक खुलापन, स्वच्छ वातावरण, उच्चशिक्षा आदि मानिसका लागि सम्मानका आवश्यकता मानिन्छन्, यसविना मानिस आफूलाई सम्मानपूर्वक बाच्न पाएको महसूस गर्दैन । सांस्कृतिक एवं आमोदप्रमोद, पूजापाठ उपलव्धता विना मानिसले जिवनलाई नियाल्न सक्दैन । समानता, समन्याय, सम्पत्ति, शिक्षा, लिंग, धर्म, सहर–गाउ, निजी–सार्वजनिकमाझ न्युन–विकास भिन्नता, अगाडि परेका–पिछडिएका समाज–समाज विचमा न्युनअन्तर कायम गरिनु सामाजिक–आर्थिक विकासका पक्ष हुन् ।

मानिसका विभिन्न आवश्यकताहरु पूर्ति गर्न जमीन, वातावरण, व्यवस्थापन, भौतिक संरचना, व्यापार, सरकारको उचित प्रवन्ध गरिनुपर्छ । पानी, इन्धन, उर्जा, घडेरी जमीन, खुला ठाउ, सडक, मुख्य एवं सहायक सडक, कार्यालय र संस्थागत सार्वजनिक भवनहरु, कलकारखाना, द्रूत सार्वजनिक यातायातका दूरसंचार, इन्टरनेट तथा अन्य सूचना केन्द्रहरुको व्यवस्था पनि गरिनुपर्छ । 
समाजमा विकासलाई हाक्ने र त्यसलाई अवरोध गर्ने तत्वहरु हुन्छन् । सरकारले त्यसलाई ठिक ढंगमा अध्ययन एवं पहिचान गर्न सक्नुपर्दछ । जमीनलाई पूर्वाधारका संरचनाले, श्रमलाई शिक्षाले, पुजिलाई उदारीकरणले, व्यवस्थापनलाई प्रतिस्पर्धाले, बाहय बन्दव्यापारलाई विश्वव्यापीकरणले र सरकारलाई विधिको शासनले गति दिन्छ । यी विकासका सहजकर्ता हुन् 
यस बिपरित, जमीनलाई सांधुरोपनाले, श्रमलाई असान्दर्भिक शिक्षाले, पुँजिलाई नियन्त्रणले, व्यवस्थापनलाई सहानुभूतिभाव–हीनताले, बाह्य बन्दव्यापारलाई अति संरक्षणले र सरकारलाई अतिलोकप्रियताले अवरोध खडा गर्छ । यी विकासका अवरोधक हुन् ।

विकासका साधक र अवरोधकको अवस्था, परिमाण, वातावरणलाई सुविचारित बस्तुगत अध्ययनपछि सोही अनुरुपको ज्ञानमा आधारित आधुनिक बैज्ञानिक नीति, कार्यक्रम, संगठन, विधि, प्रक्रिया, जनशक्ति, प्रविधि र भौतिक साधन–सुविधाको जोहोबाट मात्र जनताका आधारभूत देखि उच्चस्तर सम्मका आवश्यकताहरु पूर्ति गर्न संभव हुन्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here