प्रज्वल शम्शेर राणा प्रधान सेनापति थिए । प्रधानमन्त्री कार्यालयको मिटिङ हल, जहाँ प्रायः प्रधानमन्त्रीले प्रतिनिधी मण्डलहरूबाट ज्ञापन पत्र आदि बुझ्ने काम गर्दथे त्यस दिन मन्त्रीको रूपमा हामी केही बोलाइएका थियौं ।

सेनापतिको ब्रिफिङ थियो । धेरै कुराहरू भनियो, बताइयो । क, ख, ग र घ गरी माओवादी प्रभाव बिस्तारको चार क्षेत्रबारे विवरण दिइदैथ्यो । चार जिल्लाको ‘क’ क्षेत्रमा सीमित पारिएको माओवादीको बिस्तार दुई वर्ष पूरा नहुँदै पच्चीस जिल्लामा भैसकेको रोचक विवरण सेनाको तर्फबाट सचित्र बताइएको थियो । ‘आतंककारी’ सम्बोधन गरिएर यी सब भनिदै गर्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मौनता थियो ।

मैले सेनापतिलाई सोधेको थिए, आतंकको यत्रो तीब्र बिस्तारको अन्तरनिहीत प्रेरक तत्व के होला त ? मलाई लाग्यो, सेनापति त यसको जवाफ दिन पूर्व विचारित र तम्तयारै थिए ।

हत्केलाका औलाहरूको रेखाको गिन्ती गर्दै उनले भने सुशासन नहुनु, भ्रष्टाचार, राजनीतिक अस्थिरता आदि त हो नि यसका कारण । सेनापतिसंगको प्रतिसंवाद ठीक थिएन । मैले प्रधानमन्त्री गिरिजा बाबुतिर लक्ष्य गरी कुरा राखे – ०४८ देखि ०५१ सम्म त यी माओवादीहरू संसद मै थिए ।

०५२ को फागुण २ देखि यिनीहरू जनयुद्धको थालिनी नै गरे । के संसदीय कालको पहिलो तीन वर्षको शासनबाट सिर्जित अव्यवस्था नै माओवादी जनयुद्धको प्रेरक तत्व रहेको निष्कर्षमा हामी पुग्न सक्छौ र ?

म प्रश्नको घेरामा परिसकेकोले भन्नै पर्‍यो मध्य पश्चिमाञ्चलका चार जिल्लामा केन्द्रित माओवादीको दुई वर्ष नबित्दै पच्चीस जिल्लामा बिस्तारको कारण केही सामाजिक र अर्थ राजनीतिका मुद्दाहरू हुन् जसले बृहद् संख्याका मानिसलाई हतियार उठाउन हौस्याएको छ । यसको पनि खोजी गर्ने हो कि ? मिटिङ सकियो । कारणको खोजी र तेसको निदान तेस बैठकको उद्देश्य थिएन, ब्रिफिङ बैठक थियो त्यो ।

केही दिनपछि म सञ्चार मन्त्रीबाट अन्तै पुर्‍याइए । यो कथा कुनै दिन भनुलाँ । सञ्चार मन्त्री नरहेपछि सुरक्षासंग सम्बन्धित बैठकहरूबाट मेरो किनारा भैसकेको थियो । तर, माओवादी जनयुद्द भनौं वा जे भनौं, यसमा व्यापक जन सहभागिताको उत्प्रेरक तत्व गम्भीर र विचारणीय रहेकोमा म प्रतिवद्ध नै थिए । आज पनि मेरो मान्यता रहेको छ – चन्द्र शम्शेर राणाले इस्तिहार जारी गरेर विश्वयुद्धताका नेपाली युवाहरूलाई अनिवार्य रूपमा बेलायती सेनामा भर्ना हुन लगाएको जस्तो उर्दी यसको अन्तर्निहित कारण होइन ।

पहिलो संविधान सभाको कक्षभित्र देखिएको बैचारिक, सामुदायिक, जातीय, क्षेत्रीय, भाषिक, पहिचानको आकांक्षा आदिको सशक्त उपस्थिति यसको अकाट्य उदाहरण थियो । माओवादी र मधेसीले समेत यसलाई प्राणवायु दिन सकेन ।

गिरिजाबाबुसँग लेखक गुप्ता

मलाई लाग्दछ, जनयुद्ध पश्चात यसका परिणामहरूलाई संस्थागत गराउन नसकेकोले नै आजको दिनसम्म आइपुग्दा यत्रो ठूलो अभियान अतितको अपराधीकरण कार्यमा रूपान्तरित हुन गयो ।

आज माओवादी जनयुद्ध युरोपीयनहरूको ईसायीकरणको बाहक, राजाको षडयन्त्र, बौद्धिकता बिहीन कर्म, फगत हिंसात्मक उद्यम, लुटपाटको प्रवृति, नेपालको लागि भारतको भूराजनीतिक षड्यन्त्रको बल र तत्कालीन अक्षम शासन व्यवस्थाको परिणाम र केही चतुरहरूको धूर्तकर्म आदि जे भनिएपनि यो पूर्ण सत्य भने होइन ।

यी सब त स्वयं माओवादीले नै तेस जनयुद्धको स्वामित्व परित्याग गरेपछिको स्वतः उत्पन्न हुने प्रतिकृयाहरू हुन् । यस अवस्थामा यसो हुनु स्वभाविक नै हो ।

जे होस्, यति ठूलो अभ्यास एवम् परिणामको यति छिटो स्वस्खलनको अर्को उदाहरण बिरलै भेटिएला । तर, दुर्भाग्य नै हो यो कि यसको मूल्यांकनसम्म गर्न कोही माओवादी आज बाँकी रहेनन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here