कोलम्बो : श्रीलंकामा आइतबार इस्टरका दिन भएका आत्मघाती विस्फोटका मुख्य आक्रमणकारी पनि तीमध्ये एउटा विस्फोटमा मारिएका छन्।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले मुख्य आक्रमणकारी जाहरान हासिम मारिएको जानकारी शुक्रबार दिएका हुन्।

राष्ट्रपति सिरिसेनाले मुख्य योजनाकार तथा आक्रमणकारी जाहरान कोलम्बोस्थित सांग्रिला होटलमा भएको विस्फोटमा मारिएको जानकारी दिए। जाहरान कट्टर धार्मिक गुरु थिए।

राष्ट्रपति सिरिसेनाका अनुसार जाहरानले अर्को आत्मघाती इल्हामसँग मिलेर पर्यटकबीच लोकप्रिय होटल सांग्रिलामा विस्फोट गराएका थिए।

श्रीलंकाली राष्ट्रपतिले त्यहाँका गुप्तचर संयन्त्रलाई उद्धृत गर्दै आइएस (इस्लामिक स्टेट) मा आबद्ध करिब १ सय ३० संदिग्ध श्रीलंकामा सक्रिय रहेको बताए।

उनले तीमध्ये अझै ७० जनालाई प्रहरीले खोजी गरिरहेको पनि जानकारी दिए। ती संदिग्ध प्रहरी हिरासतमा छन् वा श्रीलंकाबाट भागिसके अझै स्पष्ट भएको छैन। उनले राजधानी कोलम्बोमा भएका ६ विस्फोटमा जाहरानको कस्तो भूमिका थियो केही बताएनन्।

राष्ट्रपतिले प्रहरी प्रमुख पुजित जयसुन्दरले राजीनामा दिएको जानकारी दिए। श्रीलंकाका रक्षासचिव हेमासिरी फर्नान्डोले पनि राजीनामा दिएका छन्।

को हुन् जाहरान ?

केही वर्षयता मात्र नाम सुनिएका जाहरान अतिवादी अन्तर्राष्ट्रिय लडाकु संगठन आइएसमा आबद्ध थिए। एउटा समूहमा सामेल भएर बौद्ध मूर्ति तोडफोड गरेपछि केही वर्षअघि उनको नाम धेरैले सुने। त्यसपछि उनले मुसलमानबाहेक अन्य समुदायमाथि आक्रमण र हिंसा गर्नुपर्ने आशयका भिडियो यूट्युबमा अपलोड गरेका थिए।

गत आइतबारका आत्मघाती विस्फोटपछि जाहरान आइएसले जारी गरेको एउटा भिडियोमा अन्य ७ जनासँग देखिएका थिए। भिडियोमा देखिएका सबैले आइएसप्रति प्रतिबद्धता जनाएका थिए। तीमध्ये जाहरानले मात्र मास्क लगाएर अनुहार छोपेका थिएनन्।

राजधानी कोलम्बोसहित देशभरि चर्च र होटल गरी श्रीलंकामा आइतबार ८ विस्फोटमा भएका थिए। विस्फोटमा ३८ विदेशीसहित कम्तीमा २ सय ५० जना मारिएका थिए।

मृतकको संख्या संशोधन किन? 

सरकारले आइतबारका विस्फोटमा मारिएकाको संख्या ५ सय ५९ बाट संशोधन गरी करिब २ सय ५३ जना बनाएको छ। स्वास्थ्य मन्त्रालयले विस्फोटमा मारिनेको संख्या ‘लगभग २ सय ५३’ भएको जनाएको छ।

मन्त्रालयले मृतक संख्या गणना गर्दा भएको गल्तीका कारण पहिले घोषणा गरिएको संख्या संशोधन गरिएको जनाएको छ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here