सर्लाही,०७ जेष्ठ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न एकजना व्यक्तिलाई सार्वजनिक गरेको छ ।

सनिवार जिल्ला प्रहरी कार्यालयमा खुनडाँका ,संगठित अपराध र किर्ते मुद्दामा फरार रहेको जिल्लाको लालबन्दी नगरपालिका वडा न-२ बस्ने सियाशरण पासवानको छोरा अन्दाजी वर्ष ४५ को संजिव पासवानलाई निजकै घरबाट पक्राउ गरि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।


निजको सर्लाही सहित महोत्तरी,सिन्धुली,सिरहा र रुपन्देहीको भैरहवामा विभिन्न मितिमा घटित घटनाहरुमा संलग्नता रहेको प्रहरीले जनाएको छ ।निज माथी सर्लाही जिल्लामा २०७४ आसोज २४ गते बेलुका करिब ७ बजेको समयमा हरिपुर न.पा वडा न-९ स्थित कविलासी न.पा वडा न-२ निवासी सुनिल साहलाई गोली हानी हत्या गरि ७ लाख ५९ हजार ३ सय ७५ रुपैया बराबरको धनमाल डकैती गरि फरार र २०७५ मंसिर २० गते करिब १ बजेको समयमा इश्वरपुर न.पा वडा न-१३ स्थित सडक खण्डमा हरिपुर न.पा वडा न-७ निवासी धनेश्वर महतोको साथबाट ९ लाख ९० हजार नगद रुपैया खोसेर फरार भएको मुद्दा छ ।

त्यस्तै महोत्तरी जिल्लामा २०७५ साल पुस २३ गते राति सोनौल गाविस वडा न-१ हाल मनरा सिसवा नगरपालिका वडा न-२ भोलही चौक निवासी राम प्रगास राय यादवको छोरा वर्ष ५५ का रामसेवक यादवको घरबाट १६ लाख बराबरको धनमाल डकैती गरेर फरार,२०७५ साल कात्तिक २५ गते भँगहा गाविस वडा न-८ हाल भँगहा न.पा वडा न-५ निवासी राजकुमार साहको घरमा ८ लाख ४ हजार रुपैया बराबरको धनमाल डकैतीको घटनामा फरार र सवारी चालक अनुमती पत्र किर्ते गरेर फरार भएपछि निज उपर मुद्दा दर्ता भइ अनुसंधान भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यसैगरी सिन्धुली जिल्लामा २०७१ साल बैशाख १७ गते राति क्यानेश्वर गाउँपालिका वडा न-८ निवासी धन बहादुर योन्जनलाई नियन्त्रणमा लिएर नगद, सुनको गहना र मोबाइल फोन समेत गरि २ लाख ५७ हजार रुपैया बराबरको धनमाल डकैती गरेर फरार रहेको मुद्दा रहेको छ ।

यस्तै २०७३ साल जेष्ठ १ गते राति सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा न-७ स्थित स्थानीय रामेश्वर यादवको घरमा ४ लाख ३१ हजार ९ सय रुपैया बराबरको डकैती गरेर फरार भएको मुद्दा छ ।अभियुक्त पासवान २०५८ सालमा रुपन्देही जिल्लाको भैरहवामा भएको डकैतीको वारदातमा संलग्न भएको आरोपमा पक्राउ परि साढे ३ वर्ष सम्म भैरहवाको कारागारमा बन्दी जीवन समेत बिताइसकेको पत्रकार सम्मेलनमा संचारकर्मीहरुलाई जानकारी गराइएको छ ।


अभियुक्त पासवान २० वर्षको उमेर देखिनै डकैतीको वारदातहरुमा संलग्न हुँदै आइरहेको र सुरुमा भारतको मुजफ्फरपुरमा ४ पटक,दरभंगामा २ पटक,मधुवनीमा २ पटक ,सितामढीमा २ पटक र समस्तीपुरमा १ पटक गरि जम्मा ११ पटक डकैतीको वारदातमा संलग्न भएको प्रहरीले जनाएको छ । नेपाल तथा भारतको विभिन्न ठाउँमा गरेको डकैतीबाट आर्जेको सम्पत्तीले ४ कोठे पक्की घर निर्माण ,१० कट्ठा १० धुर जग्गा खरिद ,४ लाख रुपैया दाइजो दिएर छोरीको विवाह गर्नुका साथै १ थान ट्रेक्टर र १ थान मोटरसाइकल खरिद गरेको निजले प्रहरी समक्ष दिएको बयानको आधारमा पत्रकारहरुलाई जानकारी गराइएको छ ।