सर्लाही, १२ जेष्ठ ।बँगैचामा आँप अझै बढ्ने क्रममा छ र त्यो पाक्न कम्तीमा १५-२० दिन लाग्छ । तर, छिमेकी मुलुक भारतबाट भने अहिले धमाधम पाकेका आँप सर्लाहीका बजारहरुमा छ्यापछ्याप्ती बिक्री हुन थालेका छन् ।
चैतको मध्यदेखि नै जिल्लाका बजारमा भारतीय आँप बिक्री भइरहेको छ ।जिल्लाका सीमावर्ती बजारसँगै हरिपुर,नवलपुर,हरिवन,लालबन्दी ,बरहथवा,बयलबास जस्ता सहर तथा ग्रामीण क्षेत्रमा समेत भारतीय आँपले बजार जमाइसकेको छ ।मलंगवाका एक फलफुल बिक्रेताले भारतबाट ल्याइएको दशहरी लगायतका जातको आँप बिक्री गरिरहेको बताए । “अहिले मद्रासबाट आँप आएको छ, नेपालमा भन्दा त्यहाँ गर्मी भएकाले छिटो पाक्ने गर्छ,” उनले भने । तर स्वास्थ्यकर्मीहरू भने बजारमा आएका भारतीय आँप औषधि राखेर पकाइएकाले खान योग्य नभएको बताउँछन् ।
कृषि विज्ञका अनुसार आँपको सिजन शुरु नै नभएकाले भारतबाट ल्याइएको आँप खानयोग्य नभएको बताए । उनले जेठको तेस्रो साताबाट मात्र आँप पाक्ने गरेको बताए । “भारतीय आँपमा औषधि राखेर पकाइने भएकाले उपभोक्ताहरु सचेत हुनुपर्छ,” उनले भने ।भारतबाट समय अगावै ल्याइएका त्यस्ता आँपमा हेर्दै अस्वाभाविक रंगको देखिने गरेको पाइन्छ । औषधि तथा केमिकल राखेर पकाउने गरेकाले अस्वाभाविक रंगका देखिने गरेका हुन् । तर फलफूल बिक्रेताहरू भने भारतबाटै पाकेका आँप ल्याइएर बिक्री गरेको दाबी गरेका छन् ।
सर्लाहीका बजारहरुमा सुरुआती चरणमा आँपको मूल्य प्रतिकेजी १ सय रुपैया भन्दा बढी पर्ने र पछि विस्तारै भाउ घट्दै जाने गरेको छ । औषधि हालेर पकाइएका आँप स्वास्थ्यका लागि अति नै हानीकारक हुने चिकित्सकहरू बताउँछन् । खानै पर्ने भए पनि कम्तिमा ६ घण्टा फ्रिजमा राखेर वा तातो पानीले धोएर मात्र खानुपर्ने उनीहरूको भनाइ छ ।औषधि राखेर पकाइएका आँप खाएमा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशा सम्बन्धी समस्या हुने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या आउने र झाडापखाला लाग्ने समस्या देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here