इलाम, १६ जेठः प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले सञ्चालन गरिरहेको प्रदेशस्तरीय खेलकुदअन्तर्गत हिजो जेठ १५ गतेदेखि सङ्खुवासभाको खाँदबारीमा जारी महिला कबड्डी खेलका लिग चरणका खेलहरु आज भइरहेका छन् । आज भएका दुई खेलमध्ये इलामले एकमा हार ब्यहोरेको छ भने एकमा जित हासिल गरेको छ । 

आज बिहानको खेलमा इलाम सङ्खुवासभासँग पराजित भएको हो । खेलमा इलामले ३० र सङ्खुवासभाले ३४ अङ्क बटुलेको थियो । यो खेल हिजो जेठ १५ गते आधामै रोकिएर आज पुनः भएको हो । हिजोको खेलमा इलामले संखुवासभालाई पराजित गर्नेगरि प्रशस्त अङ्क बटुलेको भएपनि आज पुनः खेलाइँदा हिजोको अङ्क नजोडिएपछि आज हार ब्यहोरेको हो । 

हिजोको खेलमा इलामले २३ अङ्क बटुल्दा सङ्खुवासभाले ८ अङ्कमात्र प्राप्त गरेको थियो । तर खेल हुँदाहुँदै पानी परेर खेल रोक्नु परेको इलामबाट खेलाडीसँग गएकी टीम कोच कुमारी राईले सन्दकपुर दैनिकलाई जानकारी दिइन् । उनले भनिन्, ‘हिजो जितिसकेको थियौँ । तर हिजोको अङ्क आज गणना नभएर शुरु देखि नै खेल्नु परेकोले आज हार भयो ।’

यता आज नै तेह«थुम जिल्लासँग भएको खेलमा भने इलामले फराकिलो अङ्कअन्तरसहित जित हासिल गरेको छ । सो खेलमा इलामले ६४ अङ्क प्राप्त गरेको छ भने तेह«थुमले २५ अङ्क मात्र ल्याएको छ । आज नै तेस्रो खेल पानीका कारण नरोकिएको खण्डमा इलामले खोटाङसँग खेल्नेछ । 
हालसम्मको खेल हेर्दा इलामको नतिजा राम्रै हुने अपेक्षा गरिएको त्यहाँ पुगेका इलामका टीम ब्यवस्थापक बुद्धिराज भुजेलले जानकारी दिए । प्रथम, द्वितीय वा तृतीयमा एउटा आउने उनको अपेक्षा थियो ।

इलामबाट टीम कोच र ब्यवस्थापक बाहेक सातजना खेलाडीहरु सङ्खुवासभा पुगेका छन् । ती खेलाडीहरुमा अरुना कार्कि, मुना राई, मन  कुमारी राई, उषा राई, बबिना उराउ, बबिता बराइली र रेखा तामाङ रहेका छन् । कबड्डीको फाइनल खेल जेठ १८ गते हुने भएको छ ।

प्रकाशित
सन्दकपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here