वीरगन्ज १९ जेठ । रक्षक नै भक्षक भएपछि वीरगंजका अर्बौका सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा जाने खतरा बढेको छ । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको प्रत्यक्ष संलग्नतामा बीरगंजको मुटुमा रहेको आदर्शनगर स्थित हजारी मल धर्मशालाको ५० करोड भन्दा बढी मुल्यको जग्गा भूमाफियाले ट्रष्टको नामबाट लुट्न लागेको घटना सार्वजनिक भएसँगै नगर प्रमुखको असली स्वरुप जनता माझ आएको छ ।

झण्डै ७० बर्षको इतिहास बोकेको आदर्शनगर टाउन प्लान भन्दा अगाडी निर्माण भएको हजारी मल धर्मशालालाई पहिलो मधेश आन्दोलनको मौका छोपी २०६४ असोज ३ गते जिल्ला प्रशासन कार्यालयमा हजारी मेल सेवा ट्रष्ट दर्ता गरेर हजारी मल स्मृति भवन तथा धर्मशालाको चल अचल सम्पति हडप्ने षडयन्त्र भएको छ । तत्कालिन अवस्थामा वीरगज ७ निवासी रामकृष्ण अग्रवाल ट्रष्टको संरक्षक अध्यक्ष, नारायण अग्रवाल महासचिव, जगदीश अग्रवाल कोषाध्यक्ष, अर्चना कुमारी सरावगी सदस्य, अनिता अग्रवाल सदस्य रहने गरी ट्रष्टको कार्य समिति गठन गर्नुका साथै सोको साक्षीको रुपमा शंकर लाल सरावगी, आशिक सरावगी, सुरभी सरावगी, मुकेश सरावगी र अनुप सरावगी बसेर संस्था दर्ता गरिएको अभिलेख जिल्ला प्रशासन कार्यालयबाट भेटिएको छ ।

यता मालपोत कार्यालयको अभिलेख अनुसार हजारी मल स्मृति भवनको नाममा लालपुर्जा रहेको र सो जग्गा तथा भवनको हक हस्तान्तरण र धरौटी समेत राख्न नसक्ने गरी रजिष्टेशन पास भएको देखिएको छ । अर्बौका सार्वजनिक जग्गा हडपने लागेको देखदा पनि पर्साका सासद देखी विधायक सम्म चुप रहेका छन ।
विगतमा सस्तो मुल्य भए पनि अहिले सो जग्गा ५० करोड भन्दा बढी मुल्यको भएपछि सुनियोजित रुपमा ट्रष्टको नाममा जग्गा हडप्ने दाउमा भूमाफिया लागेको र भूमाफियालाई नगर प्रमुख विजय सरावगीको संरक्षण रहेको भेटिएको छ ।

अत्यन्त जिर्ण अवस्थामा रहेको हजारी मल धर्मशालालाई तल पार्किङ्ग स्थल र माथि सपिङ्ग सेन्टर बनाउने भन्दै धर्मशालाका काठ, इटा, हटाउन थालेपछि सोको बारेमा खोजी शुरु भएको हो ।
यसैविच वीरगंजको शंकराचार्य गेट अगाडी हजारी मल धर्मशालाकै नाममा रहेको झण्डै ५ विगाहा भन्दा बढी जग्गा रहेको छ । सो जग्गामा समेत भूमाफियाहरुले अन्तर्राष्ट्रिय स्तरको नेपाल भारत योग केन्द्र स्थापना गर्ने भन्दै गत बर्ष रामदेव बाबा सँग शिलान्यास समेत गराएका थिए । अन्तर्राष्ट्रिय योग केन्द्र स्थापनाको उद्घाटन भएको दुई बर्ष वितिसक्दा पनि कुनै काम शुरु नहुनुले अर्बौको जग्गा समेत भूमाफियाको कब्जामा जाने खतरा बढेको छ ।

बीरगंज नगरको सार्वजनिक जग्गा संरक्षण गर्नु पर्ने व्यक्तिकै संरक्षणमा धमाधम सार्वजनिक जग्गा लुटने काम भएपछि नगरवासी आक्रोशित भएका छन् ।
यस अघि नगरप्रमुख विजय सरावगीको नाम रौतहटको गौर राईस मिलको अर्बौको जग्गा हडप्ने प्रपञ्चमा जोडिएको थियो । रौतहटको गौर राईस मिलको जग्गा तत्कालिन प्रधानमन्त्री माधव नेपालको सक्रियतामा भूमाफियाको कब्जामा जानबाट रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here