काठमाडौँ — जनकपुर ब्युरो सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढो छ । बिरामीको चापलाई धान्ने गरी स्वास्थ्यकर्मी छैनन् । स्वाथ्यकर्मीले चाहेर पनि बिरामीको चापका कारण राम्रो सेवा दिन सक्दैनन् । जसका कारण बिरामी मर्कामा पर्दै आएका छन् 

जिल्ला अस्पताल कलैयामा आउने सुत्केरीले एक वर्षदेखि यातायात खर्च पाउन सकेका छैनन् । सरकारले सुत्केरीलाई यातायात खर्चवापत हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
प्रदेश सरकारले निकासा नगरेका कारण सुत्केरीले यातायात खर्च पाएका छैनन् । सुत्केरीलाई वितरण गर्नुपर्ने रकम एक वर्षदेखि उपलब्ध गराउन नसकेको अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापनले सुत्केरी गराउन आवश्यक उपकरण खरिद गर्न नसकेको जनाएको छ । चिकित्सक, नर्सले अतिरिक्त काम गरेवापत पाउनुपर्ने ३ सय रुपैयाँ भत्ता पाउन सकेका छैनन् । गत साउनदेखि हालसम्म साढे तीन हजार सुत्केरीले यातायात खर्च पाउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।
‘चालू आर्थिक वर्ष सुत्केरीलाई यातायात खर्चवापत ९० लाख रुपैयाँ निकासा हुनुपर्ने रकम हालसम्म प्राप्त भएको छैन,’ उनले भने, ‘अस्पतालमा विडम्बना छ ।’ ‘पटक–पटक माग गर्दा पनि रकम आएको छैन,’ उनले भने, ‘प्रदेश सरकारको मातहतमा आएदेखि अस्पतालको बिजोग छ ।’
अस्पताल आफैं बिरामी५० शय्याको सुविधायुक्त जिल्ला अस्पताल कलैयामा दरबन्दीका चिकित्सक र स्वास्थ्यकर्मी अभावले सेवाग्रही मर्कामा छन् । लामो समयदेखि अस्पतालको व्यवस्थापन सुधार नभएपछि बिरामी अन्यत्र जाने गरेका छन् । यहाँका बिरामी भारतको विभिन्न अस्पतालमा महङ्गो रकम खर्चेर उपचार गराउन बाध्य छन् । ‘अस्पतालमा जनशक्ति अभाव छ, बिरामीले रोगको उपचार पाउन सकेका छैनन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेड त्रिभुवनचन्द्र झाले भने, ‘कलैया अस्पतालको लामो समयदेखि यो स्थायी समस्या जस्तै भएको छ ।’ अस्पतालमा आइसीयू, ब्लड बैंक समेत छैन । दरबन्दीका चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण नहुँदा बिरामीलाई वीरगन्ज अस्पताल जान सिफारिस गर्न बाध्य रहेको झाले बताए ।
अस्पतालमा प्रयोगशाला, एक्सरे, गर्भवतीको शल्यक्रियाका लागि आधारभूत संरचना नै छैन । कर्मचारी अभावमा अस्पताल भित्रको फार्मेसी दैनिक दुई/चार घण्टा मात्र खुल्छ ।
कहिलेकाहीं त्यो पनि खुल्दैन । डा.झाका अनुसार अस्पतालमा ६० जना स्वास्थ्यकर्मीको दरबन्दीमध्ये २२ जना कार्यरत छन् । अधिकांश चित्सिक स्वास्थ्यकर्मी करारमा छन् । अस्पतालमा ९ जना दरबन्दीमध्ये एक जना मेडिकल सुपरिटेन्डेन्ट र अन्य मेडिकल अफिसर ८ जना करारमा छन् । ‘आकस्मिक सेवा नपाएपछि सेवाग्रहीले चित्सिकलाई दुर्व्यवहार गर्छन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा चिकित्सकलाई टिक्न समस्या हुन्छ ।’
ग्रामीण क्षेत्रमा झन समस्याजनकपुरधामदेखि करिब २५ किलोमिटर उत्तर धनुषाधाम नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार कर्मचारी छैनन् । चिकित्सक, स्वास्थ्य सहायक, अहेव, नर्स अनमी, ल्याब असिस्टेन्ड, कार्यालय सहयोगीसहित १४ जनाको दरबन्दी रहे पनि एक जना चिकित्सक, नर्स, स्वास्थ्य सहायक र कार्यालय सहयागीसहित ५ जना मात्र कार्यरत रहेको स्वास्थ्य केन्द्र प्रमुख डा.अशोक साहले बताए । उनका अनुसार स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि समेत छैन । तीनवटा बेडसहित बहिरङ्ग सेवा मात्रै सञ्चालित स्वास्थ्य केन्द्रमा सेवाग्रहीले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य भवन निर्माण गरी सहरी विकास तथा भवन निर्माण विभागले धनुषाधाम नगरपालिकालाई हस्तान्तरण गरेको भए पनि सञ्चालनमा आएको छैन । स्वास्थ्य केन्द्रबाट १५ शय्यासहितको सेवा प्रदान गर्ने उद्देश्य भए पनि नवनिर्मित स्वास्थ्य केन्द्रमा आधारभूत भौतिक संरचना व्यवस्थापन नभएकाले सञ्चालनमा नआएको साहले बताए ।
उनका अनुसार स्वास्थ्य केन्द्रका लागि २० लाख रुपैयाँ बराबरको औषधि टेन्डर गरी खरिद प्रक्रियामा छ । स्वास्थ्य संस्थाको व्यवस्थापकीय जिम्मेवारी पाएको स्थानीय तहमा नै दरबन्दीअनुसार कर्मचारी अभाव र बजेट निकासाको झन्झटिलो प्रक्रियाका कारण फागुनदेखि तलब पारिश्रमिक पाउन नसकेको स्वास्थ्य केन्द्र प्रमुख डा. साहले बताए । स्थानीय तह नगरपालिका र गाउँपालिका कार्यालयले शिक्षक, स्वास्थ्यकर्मी, कृषि, भेटरेनरी, महिला विकासलगायत कार्यालयका कर्मचारीको तलब भुक्तानी दिने व्यवस्था गरिएको छ । तर, स्थानीय तहका कर्मचारी लेखा अधिकृत, लेखापाललगायत कर्मचारीले तलब भुक्तानीमा ढिलाइ भएको गुनासो गरेका छन् ।
विशेषज्ञ डाक्टर अभावरौतहट सदरमुकाम गौरमा रहेको एकमात्र सरकारी अस्पतालमा दुई वर्षदेखि विशेषज्ञ चिकित्सक छैनन् । जिल्ला अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये एक जना मात्र कार्यरत छन् । चिकित्सक नभएपछि अस्पतालमा आउने बिरामी स्वास्थ्य सेवाबाट वञ्चित छन् । ५० शय्याको सुविधासम्पन्न जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साह मात्र विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत छन् । डा. साह अस्पताल प्रमुख पनि हुन् । अस्पतालमा ९ जना विशेषज्ञ, मेडिकल अफिसर ४ जना र डेन्टल सर्जन १ जनाको दरबन्दी रहे पनि स्वास्थ्य मन्त्रालयले चिकित्सक पठाएको छैन । मन्त्रालयले मेडिकल अफिसरको दरबन्दी करारमा राखेको छ । करारका चिकित्सक असार मसान्तमा फिर्ता हुन्छन् । त्यसपछि एक जना डाक्टरका भरमा अस्पताल धान्नुपर्ने अवस्था रहेको प्रमुख साहले बताए । ‘लामो समयसम्म चिकित्सकको अभाव झेलेको अस्पतालमा दरबन्दी परिपूर्ति नहुँदा समस्या भएको छ,’ उनले भने, ‘मन्त्रालय विभागमा पटक–पटक जानकारी गराइएको छ । तर पठाउने काम भएको छैन ।’
स्वास्थ्य मन्त्रालयले पनि छात्रवृत्ति र करारको भरमा मेडिकल अफिसर पठाएको छ । ती सबैको असारमा म्याद सकिन्छ । दरबन्दीका ६ जना स्टाफ नर्समध्ये एक जना मात्र कार्यरत रहेको साहले बताए । अस्पतालमा तीन जना ल्याव टेक्निसियनमध्ये एक जना मात्र छन् । जनशक्ति अभाव र आधारभूत पूर्वाधार व्यवस्थापन अभावका कारण अस्पतालको सेवा प्रभावित हुँदै गएकोमा सेवाग्रहीले चौतर्फी विरोध गरेका छन् । सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकेकाले बिरामी चितवनलगायत भारतसम्म जान बाध्य छन् । अस्पतालमा दैनिक सयदेखि २ सय जनासम्म बहिरङ्ग सेवामा बिरामी आउने गरेका छन् । भारतबाट समेत बिरामी आउने हुनाले अस्पतालमा चाप बढेको छ । गौर नगरपालिकाका उपमेयर किरण साहले अस्पतालको अवस्था सुधार गर्नुपर्ने बताइन् । ‘लामो समयदेखि विशेषज्ञ चिकित्सक छैनन्, माथिल्लो निकायलाई चासो छैन,’ उनले भनिन्, ‘सम्बन्धित निकायमा जानकारी गराउँदा पनि बेवास्ता गर्नु दुर्भाग्य हो ।’ ७२ प्रकारका औषधि निःशुल्क पाइने घोषणा भए पनि ३० प्रकारका मात्रै उपलब्ध भएको अस्पतालले जनाएको छ ।
पर्सामा रगत मौज्दात घट्योऔपचारिक रक्तदान कार्यक्रम नहुँदा रक्त सञ्चार केन्द्र वीरगन्जमा मौज्दात घटेको छ । केन्द्रमा १ सय ५० देखि २ सयको हाराहारीमा मात्र रगतको मौज्दात रहेको छ । कुनै सामूहिक दुर्घटना भइहाले वा बिरामीको चाप बढे यतिको मौज्दातले धेरै दिन धान्न नसक्ने अवस्था छ ।
मौज्दातसहित नियमित माग धान्न केन्द्रमा कम्तीमा ५ सय देखि ६ सय पोका रगत हुनुपर्ने केन्द्रका प्रमुख सौरभराज पाण्डे बताउँछन् । गर्मी मौसम र मुस्लिम समुदायको रमजान महिना समेत परेकाले रक्तदान कार्यक्रम नियमित रूपमा नभएकाले मौज्दात घटेको उनले बताए ।
‘सामान्यता नेपालमा मात्र नभई एसियामै बर्सेनि जेठ र असार महिनामा गर्मीका कारण रक्तदान गर्ने प्रवृत्तिमा निक्कै कमी आउँछ,’ उनले भने, ‘जेठ २४ देखि नियमित रक्तदान कार्यक्रमको तालिका रहेकाले रगतको मौज्दात बढ्ने आशा गरेका छौं ।’ जेठ २४ वीरगन्ज २३ र पटेर्वासुगौली गाउँपालिकामा तथा त्यसै दिन बैंकर्स एसोसिएसनको पनि वीरगन्जमा रक्तदान कार्यक्रम परेकाले एकै दिन रगत संकलन हुने उनले बताए ।
हाल केन्द्रमा एबी पोजेटिभ समूहको रगत मौज्दात नरहेको उनले बताए । ओ पोजेटिभ र बी पोजेटिभको मौज्दात भने छ । वीरगन्जमा हालका दिनमा दैनिक ३० देखि ४० पोका रगतको आवश्यकता रहेको छ । यहाँका झन्डै एक दर्जन ठूला–साना अस्पताल तथा नर्सिङ होमबाट दैनिक रगतको माग आइरहन्छ । रगतको माग पनि यसै केन्द्रले धान्नु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here