राजविराज / प्रमुख अतिथिले ब्याटिंग वा बलिंग गर्दै क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने प्रचलन नेपालमा नयाँ हैन ।

प्राय घरेलु प्रतियोगिताहरुको सुरुवात यसरीनै गरिन्छ । सोमबार राजविराजमा सप्तरी क्रिकेट संघको आयोजनामा सुरु भएको मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनको उद्घाटनमा प्रमुख अतिथि राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादबको हातमा ब्याट थमाइयो भने बल थियो उप-मेयर साधना झाको हातमा थियाे ।

प्रतियोगिताको उद्घाटन गर्ने उद्देश्य एकातर्फ थियो तर मेयर यादब र उप-मेयर झाको भने उद्देश्य त्यतिमा सिमित थिएन । प्रसंग गत वर्ष पहिलो सिजनको सप्तरी प्रिमियर लिगको उद्घाटनको हो ।

गत सिजन पनि प्रतियोगिताको उद्घाटन गर्न मेयर यादव र उप-मेयर झालाईनै ब्याट-बल थमाइएको थियो । उप-मेयर झाले बलिंग गर्दै उद्घाटन गर्ने अवसरलाई औपचारिकतामै सिमित गरिनन् खेलाडीले झैं जोसिली तरिकाले बलिंग गरिन् । मेयर यादवले ब्याट त घुमाए तर बलले सिधा स्टम्पको दिशा लियो ।

उप-मेयरको बलमा मेयर क्लिन बोल्ड !

उद्घाटन हेर्न वरपर झुम्मिएका दर्शकहरु मजैले हाँसे । उप-मेयर साधना झाको तारिफ भयो भने मेयर सम्भुप्रसाद झाको खिस्सी उड्यो । दोश्रो सिजन पनि पब्लिक विन्देश्वरी स्कुल मैदानमा मेयर यादवको हातमा ब्याट हुँदा पछिल्लो वर्षको प्रसंग ताजै थियो ।

यो पटक उप-मेयर झाको उत्साह पोहोर साल भन्दा अझ बढेको थियो । ४-५ स्टेप रन अप लिंदै पुनः मेयरलाई बोल्ड गर्ने उद्देश्यका साथ उप-मेयर झाले बलिंग गरिन् । यो पटक भने मेयर यादव सायद तयारीनै गरेर आएका थिए ।

स्टम्प ताकेर आएको बललाई उनले कसेर प्रहार गरे । बललाई जोडले हिर्काएपछि मेयर यादवमा खुसिको सिमा थिएन । सट हान्ने बितिकै उनले शानले शतक हाने जसरि ब्याट उठाए, दर्शकहरुको तालिको गडगडाहट बीच मेयरले भने – जय मधेस !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here