सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ । रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो ।

सिरहामा यस वर्ष ५ हजार १ सय ७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १ दशमलव ५ प्रतिशतका दरले ७ हजार ७ सय ५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए ।

कूल ५ हजार ७ सय ५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष ५ हजार १ सय ७० हजार हेक्टरमा प्रतिहेक्टर ४ दशमलव ५ प्रतिशतका दरले २३ हजार २ सय ६५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

सप्तरीमा समेत यस वर्ष आँप उत्पादन ह्वात्तै घटेको छ । कूल ५ हजार हेक्टरमा प्रतिहेक्टर १ दशमलव ५ मेट्रिक टनका दरले ७ हजार मेट्रिक टन आँप उत्पादन भएको यादव बताउँछन् । गत वर्ष सप्तरीमा प्रतिहेक्टर ८ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन् ।

आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिनापानी र धुवा किराले क्षति र्पुयाएको बागवानी अधिकृत यादवले बताए । सिरहा र सप्तरीको बजारमा माल्दा आँप प्रतिकिलो १००, बम्बई आँप १२०, सरही आँप ८० तथा अन्य आँप प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकिलो ५० भन्दा कममै आँप बिक्री भएको थियो ।

शुरूवातमै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here