काठमाडौंःसर्लाहीमा पूर्व पश्चिम राजमार्ग खुलाउने क्रममा आइतबार प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु हुनुमा प्रहरीको गल्ती भएको सर्वपक्षीय बैठकले निर्णय गरेको छ । सोमबार जिल्ला समन्वय समितिका संयोजक मैथुर चौधरीको अध्यक्षतामा बसेको बैठकले घटनामा प्रहरीको गल्ती भएको ठम्याएको हो ।
ईश्वरपुर नगरपालिका-१३ गौरीशंकरका १२ वर्षीय अमित यादवको शनिबार नगरपालिकाले लापरबाही गरेर खनेको खाल्डोमा बनेको पोखरीमा डुबेर मृत्यु भएको थियो । त्यसको विरोधमा नगरपालिकाको ध्यानाकर्षण गर्न स्थानीयले आइतबार बाँकेमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए

बाटो खुलाउने क्रममा प्रहरीले चलाएकाे गोली टाउकाेमा लाग्दा ईश्वरपुर नगरपालिका-१३ का २५ वर्षीय सरोज नारायण महतोको मृत्यु भएको थियो । सोही घटनामा अर्का प्रदर्शनकारी राजकुमार महराको खुट्टामा गोली लागेकाे छ ।

बैठकले राजमार्गमा शान्तिपर्ण धर्ना दिएका सर्वसाधारणलाई एक्कासी गोली हान्नु प्रहरीको चरम गैर जिम्मेवार कार्य भएको ठहर गरेको छ । टाउकोमा ताकेर गोली हानिएको घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न बैठकले माग गरेको छ । प्रहरीको गोलीबाट मृत्यु भएका महतोलाई शहिद घोषणा र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग बैठकले गरेकाे अघि सारेकाे छ ।

घटनाकाे न्यायिक छानविन हुनुपर्ने र घाइते सबैको सरकारले उपचार गर्नुेपर्ने बैठकले माग गरेको छ । बैठकमा सोही क्षेत्रका संघीय सांसद प्रमोद साह, प्रदेश सांसद उपेन्द्र महतो, कांग्रेसका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्रकुमार, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायत स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए ।

समन्वय समितिका संयोजक चौधरीले बैठकको निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको बताए । उनले माग पुरा नहुन्जेल जिल्ला अस्पतालबाट लाश नउठाउने स्थानीयले निर्णय गरेको उल्लेख गरे ।

‘प्रहरीबाट ज्यादती भएकोमा सबैको एकमत छ,’ उनले भने, ‘बैठकले राखेको माग सम्बोधन नभए कडा आन्दोलन हुन्छ । सरकारले समयमै दोषीलाई कारवाही गर्नुपर्छ ।’ #नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here