सिमरा, असार १७ गते। बारा जिल्लाको जीतपुर सिमरा उपमहानगर पालिकाको सामुदायिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर)लाई ६१ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले सोमवार पक्राउ गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई इलाका प्रहरी कार्यालय सिमराले ६१ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा नम्बर ६ घर भइ हाल वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ विद्यानगरटोलमा बस्दै आएका थिए । ठाकुर प्रधानाध्यापक रहेको विद्यालयमा शिक्षकमा जागिर लगाईदिने भन्दै विभिन्न व्यक्तिहरुसित २ लाखदेखि ५ लाख सम्म रकम असुल गरेको आरोप लगाइएको छ ।उनले आफै प्रधानाध्यापक रहेका विद्यालयमा जागिर लगाइदिने भनेपछि बेरोजगारहरुले पत्याएका थिए ।

ठाकुरले २० जनाबाट प्रतिव्यक्ति २ लाखदेखि ५ लाखसम्म ठगी गरेको उजुरी परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)गोविन्द पुरीले जनाए । ‘ दुई वर्षदेखि ठाकुरले विभिन्न व्यक्तिहरुसित रकम उठाउँदै आएका थिए’ पुरीले भने, इलाका प्रहरी कार्यालयमा पीडितहरुले रकम किटानी सहित उजुरी दिएपछि उनलाई पक्राउ गरिएको छ । ठाकुरले ठगी गरेका व्यक्तिहरुले रकम फिर्ता मागेपछि उनले रकम नरहेको खाताको चेक दिएर लुकिछिपी बस्न थालेका थिए ।

पीडितहरुले गरेको उजुरीमा बाउन्स भएका चेकहरु समेत रहेको डीएसपी पुरीले जनाए । उजुरीको अधारमा ठाकुरलाई खोजी गर्ने क्रममा जीतपुरबाट पक्राउ गरी कारवाही थालिएको पुरीले बताए । ‘ प्रारम्भिक बयानका क्रममा ठाकुरले अपराध स्वीकारेका छन्’ उनले भने, उनलाई ठगी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here