दुबईका शासक शेख मोहम्मद अल मकतूमकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन यतिबेला लण्डनमा लुकेर बसिरहेकी छिन् । श्रीमानलाई छोडेर ब्रिटेनको शरणमा पुगेकी उनलाई आफ्नो ज्यानको डर भएको बताइएको छ ।

६९ वर्षीय शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा कविता पोष्ट गरेका छन् जसमा उनले ‘कुनै अज्ञात महिला’ माथि ‘धोका दिएको र विश्वासघात’ गरेको आरोप लगाएका छन् ।

अर्बपती शेख मोहम्मद ब्रिटेनमा एउटा घोडा दौड सर्किटका मालिक हुन् र उनलाई बेलायती महारानीसँग एस्कट (रेसकोर्ट) मा कुरा गरिरहेको देखिनु साधारण कुरा हो ।

जोर्डनमा जन्मिएकी र ब्रिटेनमा पढेकी ४५ वर्षीया हयाले सन् २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । हया उनकी छैठौं श्रीमती थिइन् ।

रिपोर्टका अनुसार थुप्रै श्रीमतीबाट शेख मोहम्मदका २३ सन्तान छन् ।

किन भागिन् हया ?

राजकुमारी हया दुबईबाट भागेर जर्मनी पुगेकी थिइन् र त्यहाँ शरण मागेकी थिइन् । यतिबेला हया लण्डनको प्रमुख इलाका केनसिंगटन प्यालेस गार्डनमा लगभग १२ सय करोड रुपैयाँ मूल्य पर्ने आवसीय परिसरमा बसिरहेको र हाईकोर्टमा कानूनी लडाईंको तयारीमा जुटिरहेको बताइएको छ ।

प्रश्न यो उठ्छ कि दुबईमा आफ्नो शानदार र विलासी जीवन छोडेर उनी किन भागिन् र उनलाई को सँग र किन डर छ ?

राजकुमारी हयाको नजिकको स्रोत अनुसार यसैवर्ष रहस्यमयी तरिकाले दुबई फर्किएकी शेखकी छोरी शेखा लतिफाबारे विचलित गरिदिने तथ्य पत्ता लागेको छ ।

सुनको पिँजडाकी चरी : दुबईकी राजकुमारीको ‘आजादी’ को इच्छा

शेखा लतिफा एक फ्रान्सेली व्यक्तिको मद्दतले डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतको तट नजिकै हतियारधारी रक्षकले हिरासतमा लिएर दुबई फिर्ता पठाएका थिए ।

त्यतिबेला राजकुमारी हया र आयरल्याण्डका पूर्व राष्ट्रपति रोबिनसनले यो मामलामा दुबईको पक्ष लिएका थिए ।

दुबईको प्रशासनले घर छोडेर भागेकी शेख लतिफा ‘उत्पीडनको शिकार भएको हुनसक्ने’ र ‘अब दुबईमा असुरक्षित’ भएको बताएको थियो । तर मानवाधिकार कार्यकर्ताले उनलाई आफ्नो मर्जीबिना अपहरण गरिएको बताएको छ ।

यो घटनापछि राजकुमारी हयालाई यसबारे विभिन्न नयाँ कुरा थाहा भएको र उनका श्रीमानका परिवारले उनीमाथि अत्यधिक दबाब दिन थालेको बताइन्छ । स्थिती यहाँसम्म पुग्यो कि उनले आफूलाई दुबईमा असुरक्षित पाइन् ।

उनका एक नजिकको स्रोतका अनुसार राजकुमारी हयालाई पनि आफ्नो अपहरण हुने र जबरजस्ती दुबई लगिने डर छ ।  

अन्तरराष्ट्रिय विवादः

लण्डनमा संयुक्त अरब इमिरेट्सको दूतावासले यसलाई दुई व्यक्तिबीचको आपसी समस्या बताउँदै टिप्पणी गर्न अस्विकार गरेको छ ।

यद्यपि, यो कहानीको एउटा ठूलो अन्तरराष्ट्रिय पक्ष पनि छ ।

डोरसेटको ब्रायन्सटन स्कूल र त्यसपछि अक्सफोर्ड युनिभर्सिटीमा पढेकी राजकुमारी हया ब्रिटेनमा बस्न चाहन्छिन् ।

यदि उनका श्रीमानले ब्रिटेनसँग हयालाई फिर्ता पठाउन माग गर्छ भने यसले ब्रिटेनका लागि ठूलो कुटनीतिक संकट पैदा हुनेछ । ब्रिटेन र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध निकै राम्रो छ ।

यो मामलाले जोर्डनको लागि पनि दुविधा निम्त्याउन सक्छ किनभने राजकुमारी हया जोर्डनका शासक शाह अब्दुल्लाहकी सौतेनी बहिनी पनि हुन् ।

जोर्डनका करिब साढे दुई लाख व्यक्ति संयुक्त अरब इमिरेट्समा काम गर्छन् र जोर्डन दुबईसँग दुश्मनी मोल्ने स्थितीमा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here