काठमाडौं, असार १९ गते : न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल यात्रा तय गरेको हो ।

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो । न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रोस टेलरले २८ तथा कप्तान केन विलियम्सनले २७ रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न मार्क वुडले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि ओपनर जोनी बेयस्ट्रोले शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १५ चौका र १ छक्काको मद्दतले १ सय ६ रनको शतकीय इनिङ्स खेले । यस्तै अर्का ओपनर जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान २/२ विकेट हात पारे । जितपछि इंग्ल्याण्डले ९ खेलबाट १२ अंक जोडेको छ । इंग्ल्याण्ड तेस्रो स्थानमा छ । आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । न्युजिल्याण्डको ९ खेलबाट ११ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here