वीरगन्ज २१ असार । सडक विभागले वीरगंजको मितेरीपुलदेखि मकवानपुरको दामेचौरसम्म त्रिभुवन राजपथको सडक अतिक्रमण हटाउन सूचना निकालेपछि वीरगंजको मुख्य सडकका बासिन्दा पुनः अन्योलमा परेका छन् । विभागले सडकको दायाँबायाँ २५/२५ मीटरको अतिक्रमण १५ दिनभित्र नहटाए डोजर लगाएर भत्काउने बताएको छ । सडकको १५ दिने समयसीमा आज सकिएको छ ।

यता सिमर ,जितपुर र परवानीपुर पछि वीरगन्जको पावरहाउस सम्म घरहरु भतकाउने काम भईरहेको र भतकाउदै वीरगन्जको बजार सम्म जाने डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताए ।

सडक विभागले यसरी सडक फराकिलो पार्न सूचना निकालेको यो पहिलोपटक होइन । यसअघि पाँचपटक यस्तै सूचना प्रकाशित भइसकेको छ । छैटौं पटकको सूचनाले दिएको समय सकिन लाग्दा वीरगंजको मुख्य सडक दायाँबायाँका घरधनीमा फेरि तनाव बढेको छ ।

सडक विभागको डिभिजन कार्यालयले त्रिभुवन राजपथसँगै महेन्द्र राजमार्गको बारास्थित धन्सार पुलदेखि मकवानपुरको लोथरसम्मको अतिक्रमण पनि हटाउन सूचना गरेको छ । पटकपटक सूचना निकाले पनि अहिलेसम्म वीरगंजको सडकमा डोजर भने चलेको छैन । यस्ता सूचना वीरगंजका लागि अन्योलको कारण मात्र बनेका छन् ।

वीरगंजको घण्टाघरदेखि भन्सारसम्म हजारौं घर, व्यावसायिक स्थल, वित्तीय संस्था र सरकारी स्वामित्वका संरचनाहरू छन् । सडकको निर्धारित सीमाभित्र पर्ने ती संरचना भत्काउँदा वीरगञ्जको मौलिकता नै समाप्त हुने एकथरी बताउँछन् भने अर्काथरी मापदण्ड अनुसार सडक फराकिलो पार्नुपर्ने पक्षमा उभिएका छन् । केहीले भने सधैंको किचलो राख्नुभन्दा जेजस्तो भए पनि चाँडै छिनोफानो हुनुपर्ने बताउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here