खोटाङ — लोकसेवा आयोगको परिक्षामा प्रश्नपत्र च्यात्ने दुईजनाले पक्राउपछि आफूहरुमाथि यातना दिइएको गुनासो गरेका छन् । शनिबार दिक्तेल बहुमुखी क्याम्पसमा लोकसेवा आयोगले सञ्चालन गरेको पाँचौ तहको परीक्षामा प्रश्नपत्र च्यात्ने रवीन खम्बु र एलबी मगरले राष्ट्रिय मानवअधिकार समक्ष त्यस्तो गुनासो गरेका हुन् ।

शनिबार बिहान पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषदका सचिव रवीन खम्बु र सहसचिव एलबी मगरले पक्राउपछि आफूलाई प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले नै प्रहरीलाई यातना दिन निर्देशन दिएको दाबी गरेका छन्। आफूहरुमाथि यातना भएको गुनासोपछि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ शाखा कार्यालय खोटाङको टोलीले आइतबार बिहान प्रहरी हिरासतमा रहेकाहरुलाई भेट्न गएको थियो।
प्रहरीले परीक्षा बिथोल्न खोजेको भन्दै चारजनालाई पक्राउ गरेको छ। उक्त केन्द्रमा पुगेकी स्थानीय रुपाकोट साप्ताहिककी पत्रकार सविना परियारलाई समेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकी परियारले भने आन्दोलनकारीले प्रश्नपत्र च्यातेको फोटो खिच्ने क्रममा आफूलाई पक्राउ गरेको भन्दै न्यायको माग गरेकी छन्। प्रमुख जिल्ला अधिकारी विष्णुहरी उपाध्यायले भने अनुमति बिना परीक्षा केन्द्रमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको बताएका छन्। उनी लगायत दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार समेत पक्राउ परेका छन्। उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here