सप्तरी, साउन ६ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिबाट ५० प्रतिशत सम्म कमिसन लिएर मात्र चेक दिदै आएको रहस्य खुलेका छन् । छिन्नमस्ता गाउँपालिकामा असार महिनामा भएको विभिन्न योजनाहरु सम्पन्न भएपनि अहिले गाउँपालिकामा रकम लिन आउने उपभोक्ता समितबाट गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डल कुरुडले स्वयम् ५० प्रतिशत सम्म रकम कमिसन लिएर चेक दिने गरेको खुलासा भएका हुन् ।

उपभोक्ता समितिले निर्धारित समय सिमाभित्रै काम सम्पन्न गरेपनि अहिले गाउँपालिकमा चेक लिन जाँदा ५० प्रतिशत रकम कमिसन नदिएसम्म चेक नदिने गरेको आरोप उपभोक्ता समितिहरुले लगाएका छन् । सो सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष मण्डलले आफै आफुले ५० प्रतिशत रकम कमिसन लिने गरेको स्विकार गरेका छन् । यसबाट प्रष्ट हुन्छ छिन्नमस्ता गाउँपालिकामा उपभोक्ता समितिले गरेको प्रत्येक कामको रकममध्ये ५० प्रतिशत गाउँपालिकाले कमिसन लिएर मात्र रकम अर्थात चेक दिने गरेका छन् ।

श्रोतका अनुसार गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिहरु समेतको मिलोमतोमा कमिसनको चलखेल चलिरहेको छ । जस्तो सुकै काम गरेपनि ५० प्रतिशत उपभोक्ता समिति र कोटेशनबापत ४० प्रतिशत कमिसन नदिएसम्म चेक नदिने खाुलासा गाउँपालिकाका अध्यक्ष मण्डलले स्वय गरेको प्रमाण समेत फेला परेका छन् । गाउँपालिकाका अध्यक्ष मण्डलले आफनै मुखबाट स्विकार गरेका छन कि उपभोक्ता समितिसँग ५० प्रतिशत र कोटेशनवालासँग ४० प्रतिशत कमिसन लिएर मात्र चेक दिने गरेको छु ।

यस्तै आम उपभोक्ताहरुले आफुहरुको काम गरेको १५ दिन बित्तिसक्दा पनि कमिसनका कारणले अहिलेसम्म चेक नदिएको आरोप लगाएका छन् । एक उपभोक्ता समितिका अध्यक्ष नेपाली चौधरीले आफुले कमिसन नदिएकै कारणले अहिले चेक दिनमा गाउँपालिकाका जिम्मेवार निकायले आजभोली गरेर समय खेर गर्ने गरेको तथा कमिसन दिनेलाई तुरुन्तै चेक दिने गरेको बताएका छन् । 
यता सो सम्बन्धमा गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले आफुलाई न त कमिसन चाहियो, न त कमिसनको बारेमा थाहा छ, कसले कति प्रतिशत लिईरहेका छन ,सो बारेमा आफुलाई केही थाहा नभएको बताएकी छिन् ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द्र कुमार चौधरीले आफुले समयमा काम सम्पन्न गरेका उपभोक्ता समितिहरुको सबै कागजपत्र र बिल भपाई हेरेर सही गरीसकेको तथा कमिसनको बारेमा आफुलाई केही पनि थाहा नभएको बताउँदै उहाँले आफु ५ दिनको बिदामा रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here