काठमाडौँ– काँग्रेसले देशको पहिलो उद्योग भनेर चिनिने विराटनगर जुट मिलमा भएको भ्ष्टाचार र जुटमलिका नाममा रहेको जग्गा हत्याउनेलाई कारवाही गर्न माग गरेको छ । मङ्गलबारको संसद बैठकमा बोल्दै काँग्रेस सांसद डिला संग्रौलाले जुटमिलको अवस्था निकै दयनीय अवस्थामा पुगेको भन्दै राजनीतिक हस्तक्षेपले थला परेको उद्योगलाई माथि उठाउने नाममा पटक–पटक भ्रष्ट्राचार भएको आरोप लगाइन् । 

०७२ साउनमा निलहरि काफ्ले अध्यक्ष भएपछि मिल चलाउने नाममा जुट मिलका पार्ट पुर्जा मात्र नभई पर्खाल भत्काएर इँट्टा समेत बेचिएको भन्दै २०७४ साउनमा वसन्त वन अध्यक्ष भएपछि उनले जुट मिलको ६८ प्रतिशत सेयर बिक्री गरेर ३२ प्रतिशतमा झारेको आरोप लगाइन् ।

‘विभिन्न स्थानीयवासीको विरोधपछि नाटकीय ढंगबाट बोर्डको वैठक गरी ६८ प्रतिशत सेयर नेपाल सरकारको नाममा जम्मा गरेको खुलासा गरे । तर ६८ प्रतिशत सेयर अहिले पनि सरकारको नाममा कायम भएको छैन जुन कुरा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरबाट स्पष्ट हुन्छ’ उनले भनिन् ‘त्यो बीचमा वसन्त वनले मिल चलाउने नाममा ५०/६० जना श्रमिक राखेर ८०/८५ टन पटुवाबाट सुत्ली बनाएर बिक्री गरी पैसा आफै लिएर गए तर कर्मचारीले तलब पाएनन् ।’ 

उनले पुराना २५ जना कर्मचारीलाई तलब नै नदिई आफ्ना मान्छे भर्ना गरेको तर आजसम्म उनीहरुले पारिश्रमिक भुक्तानी नपाएको बताइन् । ‘यसरी यो जुटको मिलको सेयर होडवाजी, यसको नाममा रहेको ६९ विगाहा जग्गा हड्प्ने खेलमा शेयर बिक्री गर्नेहरु लागि परेका छन् । सेयरको नाममा भष्ट्राचार गर्ने र जुटमिलको जग्गा हत्याउन लागि परेका व्यक्तिलाई कारवाही हुनुपर्छ र पारिश्रमिक नपाएका श्रमिकहरुले तलव पाउनुपर्छ भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’ संग्रौलाले बताइन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here