जनकपुरधाम, साउन २२ गते । प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सरकार स्वयं संघीयता समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारको कृयाकलाप र स्वभाव हेर्दा संघीयता समाप्त गर्न उदृत रहेको बताए । ‘प्रदेश सरकारको गतिविधीप्रति अति नै चिन्तित छु’ उनले भने, “अनियमितताको चर्चा, होटेलमा बसेर गरेको लेनदेनको कुरा र मुख्यमन्त्री र मन्त्रीहरुले गरिरहेको अपशब्दले यही सरकारले संघीयता समाप्त होस् भन्ने चाहेको छ ।”

उनले आफूहरु गलत कुराको बिरोध गर्दा ‘केहि चाहियो ?’ भन्ने गरेको बताए । बिरोध गरेकै कारण आफूहरुलाई आर्थिक प्रलोभनमा पार्न खोजिएको आशय प्रकट गर्दै नेता यादवले भने, “के यिनीहरुको बारीमा पैसा फल्छ, जो लोभ देखाउँछन् ।” संघीयतालाई पालेर राख्नुपर्ने र यसमा आफूहरु पनि सहयोग गर्न तयार भएको बताउँदै यादवले मन्त्रीहरुको व्यबहारले जनता संघीयताको बिरोधमा आउन सक्ने बताए । ‘यो प्रदेशका जनता संघीयताको बिरोधमा उत्रेपछि देशभर संघीयता रहँदैन्’ उनले भने, “यसमा ध्यान दिनु जरुरी छ ।”

नेकपाकी सांसद ज्वालाकुमारी साहले सार्वजनिक रुपमा अपशब्द बोल्ने मुख्यमन्त्री र मन्त्रीलाई राजिनामा दिनुपर्ने बताइन् । ‘अहिले मुख्यमन्त्री त हुनुहुन्न, तर अपशब्द बोल्ने सामाजिक विकास मन्त्री हुनुहुन्छ’ साहले भनिन्, “म नैतिकताको आधारमा दुबैलाई राजिनामा दिन आग्रह गर्दछु ।” नेकपाका सांसद गोबिन्द न्यौपानेले काम आफैंले गर्नुपर्ने बताउँदै हालै गएको मुख्यमन्त्री नेतृत्वको टोलीलाई प्रधानमन्त्रीले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएपनि कुनै योजना नबनाउनु प्रदेश सरकारको गल्ती भएको बताए ।

प्रदेशसभा बैठकमा बाढी आएको २० दिन बितिसक्दा समेत पीडितहरु समक्ष राहत नपुगाएको भन्दै सांसदहरुले सरकारको आलोचना समेत गरे । समाजवादी पार्टीका सांसद संजय यादवले राहत बितरण गर्न प्रदेश सरकारले देखाउनुपर्ने तत्परता नदेखाएको बताए । समाजवादीकै सांसद करिमा बेगमले मुख्यमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रका बाढीपीडितलाई समेत राहत बितरण गर्न नसकेको बताइन् । उनले पर्साका धेरै ठाउँमा बाढीपीडित भएपनि प्रदेश सरकारले थोरै पनि ध्यान नदिएको गुनासो गरिन् ।

राजपाकी सांसद रानी शर्मा तिबारीले प्रदेश सरकारले राहतमा पनि भेदभाव गरेको जनाउँदै आफ्नो क्षेत्रका बाढीपीडितलाई हालसम्म राहत बितरण नभएको बताइन् । उनले यसबारेमा मुख्यमन्त्रीलाई धेरै पटक फोन गरेपनि चासो नलिएको आरोप लगाइन् । कांग्रेसकी सांसद सरस्वती चौधरीले बाढीप्रति सरकारको ध्यान किन गएको छैन ? भनेर प्रश्न गरिन् ।

उनले प्रदेश सरकारले आफैंले घोषणा गरेको मृतक परिवारलाई रु ३ लाखका दरको राहत हालसम्म कसैले नपाएको बताइन् । कांग्रेसकै सांसद राजेश्वर प्रसाद साहले पर्सा जिल्लामा बाढीका कारण चार जनाको ज्यान गएको र करोडौंको क्षति भएपनि हालसम्म राहत नपुगेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here