जनकपुरधाम, साउन २९ गते ।

विगत एक महिना देखि हँसपुर नगरपालिकामा लागेको ताला बिहीबार खोलिएको छ ।
नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झा बिचको विवादका कारण लागेको ताला बुधबार खोलिएको हो ।

नगरपालिकाका मण्डलले काम गर्ने वातावरण बघचौडाको कार्यालयमा नरहेका कारण गत साउन ३ गते बेल्हीचोकमा अस्थायी कार्यालय सारेका थिए । बघचौडा स्थित कार्यालयमा रहेको कागजात तथा फाइलहरु लग्न खोज्दा साउन ३ गते राति उपमेयर झाले कागजातहरुको सुरक्षाका लागि ताला लगाएकी थिइन् ।

नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा सञ्चारकर्मीहरुको रोहवरमा बुधबार ताला खोलेको उपप्रमुख झाले बताइन् । उच्च अदालत जनकपुरले बघचौडामैे तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाको भनाई छ ।

उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो । नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज समेत बघचौडाबाटै संचालनमा आएको छ । नगरपालिकाको हाजिरी रजिष्टरमा अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएका हुन् । नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरु आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित कामकाज संचालनमा ल्याएको बताए ।

यसअघि प्रमुख मण्डलले बेल्ही चोकस्थित कार्यालय संचालनमा ल्याएपछि कर्मचारीहरु साबिकको कार्यालयमा उपस्थित नभई बेल्हीचोकमै उपस्थित हुँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here