श्रावण ३१, २०७६ रौतहट — चन्द्रपुर नगरपालिकाले गत वर्ष लगाएको नदीजन्य वस्तुको ठेक्कामा ठूलै झेमला भयो । चुरे संरक्षणभन्दा ठेक्का लगाएर नदी उत्खननमा लागेको भन्दै आलोचना खेप्नु पर्‍यो ।ठेकेदारले केही डुंगा, गिटी संकलन गरे पनि ठेक्का सम्झौताअनुसार पाएन । राजमार्गबाट उत्तरी क्षेत्रमा ठेक्का लगाएपछि जिल्ला प्रशासनले हस्तक्षेप गर्‍यो । एक महिना अघिदेखि नदी प्रवेशमा रोक लगाए पनि नगरपालिकाले असार मसान्तसम्म निकासी पैठारीको पत्र दियो ।

ठेकेदारले भनेको समयसम्म निकासी गर्न नपाएको भन्दै उच्च अदालत वीरगन्जमा मुद्दा दिए । स्थानीयतहले यहाँको बलरी, रमौली, समनपुर, वाग्मती, विजयपुर, चाँदी लगायतको नदीमा ठेक्का लगाउँदै आएको छ ।

राजमार्गबाट उत्तरतिर नदीजन्य वस्तुको ठेक्का लगाउन पाइँदैन । चन्द्रपुरले चुरे क्षेत्र नजिक ठेक्का लगाएपछि विवादमा तानिएको थियो । यसमा नगरपालिका चुक्यो । मेयर रामचन्द्र चौधरीले यसपटक व्यवस्थित र जथाभावी उत्खनन हुने गरी ठेक्का नलगाइने दाबी गर्छन् ।

‘यसपालि चुरे संरक्षणमा हाम्रो अभियान रहनेछ,’ उनले भने, ‘जथाभावी उत्खनन हुन दिँदैनौं ।’ गत वर्ष वाग्मती नदीमा नगरपालिकाले नदीजन्य वस्तुको निकासी पैठारीको ठेक्का लगाएको थियो । ठेकेदारले मापदण्ड र सम्झौता विपरीत खाडल बनाएपछि चर्को आलोचना खेप्नु पर्‍यो ।

नगरपालिकाले ठेक्का लगाउने, वन तथा स्थानीय प्रशासनले रोक्ने काम गर्‍यो । ठेकेदार र स्थानीयतह बीच निकै समयसम्म जुहारी नै चल्यो । नगरपालिकाले नदीजन्य वस्तुको ठेक्का लगाउन सूचना निकाल्ने बुधबार नीतिगत निर्णय गरेको छ ।

असोज १ गतेबाट लागु हुने गरी सूचना निकाल्ने तयारी गरेको जनायो । ठेक्का लगाएर अनुगमन तथा मापदण्डअनुसार गराउन नगरपालिका चुक्ने गरेको स्थानीयको आरोप छ । गत वर्ष यस्तै समस्या परेको थियो । जिल्ला समन्वय समितिले समेत बेवास्ता गरेकाले ठेकेदारले नदीमा जथाभावी खाडल बनायो ।

यसले बाढी र डुबानको समस्या ल्याउने भन्दै चर्को आलोचना भयो । नियम मिचेर चाँदी, लालबकैया र वाग्मती नदीमा जथाभावी उत्खनन् गर्ने काम पछिल्लो एक दशक यता लगातार भइरहेको छ । यसले ठूलो समस्या निम्त्याएको छ । बाढी र डुबानको पीडा खेप्दै आएको तराई मधेसलाई चुरे दोहन एक चुनौती बनेको छ ।

बस्ती सखाप

नियम मिचेर जथाभावी दोहन गर्न थालेपछि सिंगो बस्ती नै सखाप पारेको चन्द्रपुर ५ स्थित उत्तर पूर्वको गाउँ ‘खैरा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । चाँदी नदीले धार परिवर्तन गरी बस्ती बगाउन थालेपछि खैराका सबै विस्थापित भए । यसको मुख्य कारण भनेको चुरे क्षेत्रका नदी दोहन नै हो । पछिल्लो समय दोहनको क्रम जारी छ ।

गाउँमा झन्डै ९० घरधुरी थिए । सानो ‘खैरा’ बस्ती अन्नको भण्डार भनेर चिनिन्थ्यो । बस्तीभन्दा धेरै पश्चिमबाट चाँदी नदी बग्थ्यो । माथि चुरे सिरबाट दोहन हुन थाल्यो । चुरे अतिक्रमण र तस्करले दिनहुँ दोहन गर्न थालेपछि नदीले धार बदलेको हो । २०५० सालदेखि वर्षाका बेला सिधै खैरा बस्ती छेउको जमिन कटान गर्न थाल्यो ।

स्थानीय आत्तिन थाले । झन्डै ८० बिघा जमिन रहेको यो गाउँबाट मानिस बिस्तारै विस्थापित भए । नदीले जमिन कटानमा पार्‍यो । अहिले बस्तीका मानिसहरू खाद्य संकटको मारमा छन् । २०६१ सालमा ठूलो बाढी आएपछि सिंगो गाउँ विस्थापित भएका हुन् । त्यस बेला स्थानीय उपेन्द्र घिमिरेको घर बगाएको थियो ।

राति नै घर छाडेर घिमिरे परिवार सुरक्षित स्थान सरेकाले मानवीय क्षति भने हुन पाएन । गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइदिन स्थानीयले सबै दलका शिर्ष नेताहरूलाई नगुहारेका होइनन् । तर, कसैले चासो देखाएनन् । अन्तत सिंगो बस्ती विस्थापित भयो ।अहिले बस्ती भएको स्थानमा नदी बगिरहेको छ ।

चुरे दोहन रोक्नु पर्‍यो, यसले बस्तीलाई जोखिममा पार्‍यो भनेर कैयौंपटक भनेको विस्थापित रामप्रसाद पौडेलको गुनासो छ । ‘नदीले धार परिवर्तन गर्नुको कारण चुरे दोहन हो । यसलाई रोक्नुस् भनेर धेरै पटक सरोकारवालालाई भनेका हौं,’ उनले भने, ‘त्यस बेला सुनवाई भएन । अहिले बाढी र पैरोको जोखिम बढेको छ । दोहन नरोकेसम्म समस्या बढदै जान्छ ।’ पौडेलले आफ्नो ५ बिघा जमिन कटान र घर बगाएपछि गाउँ छाडेका हुन् ।

दोहनले बस्ती रित्तो बनाइदिएको उनको दुखेसो छ । खैराबाट विस्थापित भएकाहरू सबै चन्द्रनिगाहपुरको चिडियादहमा बस्न थालेका छन् । अहिले पनि उनीहरू आफ्नो खेतमा नदी बगरिहेको टुलुटुलु हेरेर बस्छन् । चाँदीले खैरा मात्र होइन दक्षिणका सिन्दुरेघारी, खौरा, बलरी लगायतका गाउँमा कटान गर्दै आएको छ । ३ दशक अघिसम्म यो नदी एकतर्फबाट मात्र बग्थ्यो । गैडाटारमाथि चुरेदेखि तल भागसम्म जथाभावी दोहन हुन थालेपछि धार परिवर्तन गर्‍यो । पश्चिम क्षेत्रबाट बग्ने खोला अहिले पूर्वपट्टि अर्को धार बनाइदियो ।

चुरे मूल भएको चाँदी, वाग्मती र लालबकैया नदी अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको डिभिजन वन प्रमुख विनोद सिंहले बताए । ‘दोहन रोक्न धेरै प्रयास गरेका हौं । मानिसमा चेतना नभएर हो कि के हो जति कारबाही गर्दा पनि चेत्दैनन्,’ उनले भने, ‘दोहनकै उपज बाढी, डुबान र नदीले धार परिवर्तन गरेको छ ।’ चुरे मूल भएको नदीबाट हुने कृषिजन्य विनाश नियन्त्रण गर्न दोहन रोक्नुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here