काठमाडौं । आज हरिबोधनी अर्थात ठूलो एकादशी । आज घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदि शुभ कार्यहरु जुराउनु हुँदैन । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

आज काठमाडौं उपत्यकाका चार नारायण भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यस्तै काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । बूढानीलकण्ठमा आजदेखि कात्तिक २६ गते पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here