काठमाडौं । सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले राजपा पनि संघीय सरकारमा आउन सक्ने संकेत गरेका छन् । सत्ता गठबन्धनमा रहेको समाजवादीलाई छाडेर राजपासँग चुनावी गठबन्धन गरेको प्रश्नमा जवाफ दिदै उनले नेकपा केही सिट छाडेर भने पनि मुलुक निर्माणको अभियानमा सबैलाई साथमा लैजान उदार रहेको बताए ।

‘हामीले राजपासँग गठबन्धन गरेको समाजवादीलाई हटाउन होइन । हामी सबैलाई साथमा लिएर अघि बढ्न चाहन्छौं’ उनले भने, ‘त्यसो गर्दा एक दुई सिट नेकपाले गुमाएर केही फरक पर्दैन । राजपा सरकारमै आएछ भने पनि नेकपाले एक दुईवटा मन्त्रालय छाड्छ । हामी छाड्न तयार नै छौं ।’

नेकपा–राजपा गठबन्धनले प्रदेश २ को सरकारमा पर्ने असरबारे भने अहिले केही भन्न नसकिने बास्कोटाले बताए । राजनीतिमा कुनै पनि कुरा असम्भव नरहेको भन्दै केही समय पर्खिन र अझै राजनीतिक विकासक्रम हेर्न उनले सुझाए ।

राजपा श्रोतले जनाएअनुसार तत्काल संघीय सरकारमा जानेकुरा नभएको जनाएको छ । राजपा अध्यक्ष मण्डलका एक सदस्यले भने, अहिले तत्काल सरकारमा जाने कुरा छैन, हाम्रो माग पुरा गर्ने तर्फ सरकारले पाइला चालेको खण्डमा सरकारसँग सहकार्य गर्ने बाटो कहिले पनि बन्द नरहेको बताए । ‘सरकारमा सहभागि हुनका लागि समाजवादी पार्टी सरकारमा रहेपनि नरहेपनि खासै ठुलो विषय होइन, तर हाम्रो माग मुख्य कुरो हो, राजनीतिमा कुनै पनि निश्चित हुँदैन, यो सबै राजनीतिक घटनाक्रमले निर्धारित हुने हो’, उनले भने ।

यता, राजपा भित्र राष्ट्रिय सभाको निर्वाचनको विषयमा भएको सहमतिको आधारमा सरकारमा जानु परे को को मन्त्री हुने विषयमा अड्कलबाजी सुरु भएको छ । तर, शिर्षतहमा यो बिषयमा छलफल नभएको राजपा श्रोतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here