प्रीति रमण – सत्तासीन दल नेकपा र मधेशवादी दल राजपाबीच हालै मात्र सम्झौता भएको छ ।

राजपा र नेकपाबीच समसामयिक राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमति भएको हो । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेको विज्ञप्ति नै सार्वजनिक गरिएको छ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा रिक्त हुने ४ स्थानमध्ये २ मा राजपा र २ मा नेकपाले लिने गरी सहमति भएको छ । नेकपाले महिला र दलित पुरुषतर्फ र राजपाले अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको स्थानमा रिक्त रहेको ठाउँमा आफ्नो सांसद बनाउने सहमतिमा उल्लेख छ ।

सत्तासीन नेकपा र लामो दुुरीमा रहेको राजपाबीचको यो सहकार्यसँगै सत्तामा सहयात्रीका रूपमा रहेको समाजवादी  पार्टी नेपालसँगको सत्ता सहकार्य तोडिएको छ । समाजवादी पार्टीका दुई मन्त्रीले सरकारबाट अलग्गिएको घोषणासँगै राजनीनामा गरेका छन् । अब सत्तामा राजपाको सहयात्रा सहज बनेको छ । तर राजपाका नेताहरू सत्ता सहयात्रामा जानुभन्दा पहिले समाजवादी पार्टी के कारणले सत्ताबाट बाहिरियो भन्नेबारेमा स्पष्ट हुन जरुरी छ । संविधान संशोधन गरी जनताका चाहनालाई सम्बोधन गर्ने समझदारी कार्यान्वयन नभएपछि समाजवादी पार्टी सत्ताबाट बाहिरिएको छ भने राजपा के कारणले सत्तामा जाने हो ? स्पष्ट हुन जरुरी छ । राजपाको सत्ता सहयात्रासँगै सत्तासीन पार्टी र राजपाको लामो समयदेखिको तिक्तता हटेको मान्न सकिन्छ । विशेषगरी प्रधानमन्त्री ओलीलाई मधेशमा निषेध गर्ने लगायतका आन्दोलन गरेका कारण दुई दलमा पछिल्लो समय तिक्तता बढेको थियो । साथै, यस सम्झौताले राजपा सत्तारोहणको तयारीमा रहेको पनि बुझ्न सकिने भएको छ । पछिल्लो समय सत्तासीन नेकपाले मधेशमा आफ्नो छवि राख्न पनि मधेशवादी दलसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ । सोहीअनुसार राजपासँग पनि सम्झौता भएको मान्न सकिन्छ । तर समाजवादी पार्टीले सत्ता सहयात्रा छोड्नुको कारणमा संविधानमा संशोधन गर्ने प्रधानमन्त्रीको पूर्वसहमति कार्यान्वयन गर्न नमानेका कारण भनेर जो बाहिर प्रचारमा आएको विषयले राजपालाई सत्ता सहयात्रा सहज बन्न नसक्ने देखिन्छ ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी होस् वा महन्थ ठाकुर र राजेन्द्र महतो लगायत नेताहरूले नेतृत्व गरेको राजपा होस्, उनीहरूले मधेशको एजेन्डालाई आफ्नो पार्टीले बोकेको दावी गर्दै आएका छन् । उनीहरूले मधेशलाई आफ्नो राजनीतिको केन्द्रविन्दु रहेको बताउँदै आए पनि मधेशी जनताको हितका लागि भने कुनै ठोस काम गर्न सकिरहेका छैनन् । बरु मधेशी जनताको नाम भजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने, आफूहरू  सधैंजसो सत्ताको ‘स्वाद’ लिइरहने र पदप्रतिष्ठा आर्जन गर्ने मात्र खेलमा मधेशी नेताहरू लिप्त भएका देखिन्छन् ।

विगतदेखि नै मधेश राज्यको दृष्टिबाट टाढा रहँदै आएको छ । भौगोलिक रूपले सुगम भए पनि शासकको दृष्टिमा दुर्गम रहँदै आएको तराई–मधेशमा खासै विकास हुन सकेको छैन । पहाडी कैयौं विकट स्थानभन्दा यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत क्षेत्रको अवस्था अत्यन्त नाजुक छ । यहाँका नागरिक धेरैजसो वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्ने गरेका छन् । पछिल्लो लोकतान्त्रिक आन्दोलनपश्चात् मात्र मधेशको अधिकारको विषय केन्द्र स्तरमा उठ्न थालेको हो । केही मधेशवादी दलले मधेशको वास्तविक अवस्था बाहिर ल्याउन र अधिकार प्रत्यायोजन गर्न गरेको प्रयास तारिफयोग्य छ । त्यही कारणले सत्तामा बारम्बार सहभागी हुने मौका पनि मधेशवादी दलहरूले पाउँदै आएका छन् । त्यतिमात्र नभई मधेशकै नागरिक यो मुलुकको पहिलो राष्ट्रपति र उपराष्ट्रपति बन्ने सौभाग्य पनि मिल्यो । मधेशी रामकुमार शाह र मधेशवासी सुशीला कार्की प्रधानन्यायाधीशसम्म पुगे । थुप्रैपटक मधेशका नेता उपप्रधानमन्त्री तथा विभिन्न महत्वपूर्ण मन्त्रालयका नेतृत्वमा पनि पुगे । तर, सोहीअनुरूप मधेशको विकास हुन सकेको छैन भने यहाँका जनताको जीवनस्तर माथि उठ्न पटक्कै सकिरहेको छैन । मधेश आन्दोलनका बेला यहाँका सयौं नागरिकले आफ्नो ज्यान उत्सर्ग गरेका छन् । तर, तिनीहरूलाई देखाइएको सपना अझै पूरा हुन सकेको छैन ।

अहिले राजपा सत्तारोहणको तयारीमा छ । तर, के राजपाले मधेशको वास्तविक अधिकार दिलाउन तयार छ त ? के राजपाका नेताहरूले मधेशी जनताका लागि राजनीति गरिरहेका छन् त ? यो प्रश्न उनीहरूले आफैलाई सोध्ने बेला भएको छ । नेपालमा सीमा समस्याबाट सबैभन्दा पीडित मधेशका जनता छन् । सीमाका चोरी, डकैती, हत्या, लुटपाट, बलात्कार र आतंकवादको चपेटामा वर्षौंदेखि मधेशी जनता परेका छन् । तर, यस्ता वास्तविक समस्याहरूको हल गर्न न राजपाका नेताहरूले चासो देखाएका छन्, न त समाजवादी दलका नेताहरूले नै आवश्यकता अनुसार परिणामदायी क्रियाशीलता देखाउन सकेको नै पाइयो ?  बरु यिनै समस्यालाई सत्ता बाहिर रहँदा चर्काउने र सत्तामा पुग्ने नाटकमञ्चन मात्र गर्ने काम नेताहरूले गर्दै आएका छन् भन्दा फरक नपर्ने भएको छ ।

जनता अब विस्तारै जागरुक र शिक्षित बन्दै गएका छन् । उनीहरूले आफ्नो वास्तविक नेता को हो र कसले आफूहरूलाई भ्रममा पारेका छन् भन्ने महसुस गर्न थालेका पनि छन् । त्यसकारण आफूलाई मधेशवादी दल भन्न रुचाउनेहरूले अब मधेशी जनताको वास्तविक समस्यालाई नउठाई सुखै छैन । उनीहरूको हक र अधिकारका लागि मधेशी नेताहरूले अब लडाइँ सुरु गर्नै पर्छ । नत्र भने जनताले उनीहरूको विकल्प खोज्ने निश्चित नै छ ।-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here